काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरेका छन् । भदौ २३-२४ को विध्वंसबाट गठन भएको गैर लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको जिकिर छ ।
एमाले झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझको भर्चुअल सम्बोधनमा उनले सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताए ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने । राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’, उनको प्रश्न थियो ।
एमालेमाथि जेन जेडका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको ओलीको दाबी छ । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको भन्दै उनले अराजकता रोक्न टोल टोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताए । सुरक्षा समितिले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने उनले बताए ।
अध्यक्ष ओलीले गैर संवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुनर्स्थापना मार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याउने भन्दै ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिए ।
झापाका अध्यक्ष प्रेमबहादुर गिरिले भदौ २३-२४ को विध्वंस, आगजनी र तोडफोडपछिको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली