काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका हुन् ।
'मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् । हालसम्म पनि नामावलीमा नाम दर्ता गर्न छुट भएको भए आफ्नो नागरिकता सहित आयोगको वेभ ठेगानामा गएर प्रि-रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक दिन सकिन्छ । विवाह, बसाइसराइ लगायतका कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएमा बसाइसराइ वा अन्य सम्बन्धित कागजात सहित आवेदन दिन सकिन्छ ।
हालसम्म पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरी दिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।
पछिल्लो समयमा देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार बिहीबार साँझ ८ बजेसम्मको तथ्यांक अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । बिहीबार एक दिनमै ११ हजार बढी नयाँ मतदाता थपिएका थिए ।
हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ पुरुष र ५४ हजार १७८, महिला र अन्य १८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
अब ढुक्कैसँग निर्वाचन हुन्छ: निर्वाचन आयोग
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
समानुपातिक सूचीबाट हटाइएका व्यक्तिको विवरण सार्वजनिक
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो