एमालेले आधा महाधिवेशन प्रतिनिधि घटाउने !

चितवन महाधिवेशनको भन्दा आधा कम प्रतिनिधि तय गर्ने, निर्वाचन क्षेत्रस्तरमा आन्तरिक निर्वाचन पनि नगराइने विधि खोज्न ओलीको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, ०९ : ५५
एमालेले आधा महाधिवेशन प्रतिनिधि घटाउने !

काठमाडौं । नेकपा एमालेले पार्टी महाधिवेशनको थप तयारी गर्न कात्तिक १५ मा पार्टी सचिवालय बैठक बोलाएको छ ।

पार्टीका पदाधिकारी मात्र रहेको सचिवालयले आगामी मंसिर २७ देखि २९ सम्म पोखरामा आयोजना गर्ने गरी मिति घोषणा भईसकेको पार्टीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या, छनौटको विधि लगायतका विषयमा केन्द्रीत रहेर छलफल गर्न लागेको छ । 

जेन जी आन्दोलनका क्रममा जलेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिन यता उसले पाल टाँगेर अस्थायी कार्यालय सञ्चालनमा ल्याएको छ । अन्य कतिपय काम भने पार्टी अध्यक्ष केपी ओलीको निवासबाट गर्ने गरी काम अगाडी बढाएको छ । 

चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा प्रतिनिधि झण्डै २२ सय हाराहारीको थियो । केन्द्रीय आयोजक र महाधिवेशन प्रतिनिधि गरी सो संख्यामा रहेको महाधिवेशन प्रतिनिधिको संख्या अबको एघारौं महाधिवेशनमा भने आधा घटाउने तयारी गरेको छ ।

अध्यक्ष केपी ओलीको निर्देशन अनुसार, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले महाधिवेशन छनौट गर्ने विधि र मापदण्डका बारेमा अहिले विभिन्न विकल्पहरुमा छलफल गरीरहेका छन् । 

ओलीले १२ सय बढी महाधिवेशन प्रतिनिधि नरहने गरी प्रतिनिधि छान्ने विधि बनाउन महासचिव सहितको उक्त टोलीलाई निर्देशन दिएको र सोही आधारमा अहिले छनौट विधिका बारेमा गृहकार्य भईरहेको छ । उनीहरुले १५ कात्तिकको सचिवालय बैठकमा पेश गर्ने गरी महाधिवेशन प्रतिनिधी छनौटको मापदण्डका बारेमा छलफल सुरु गरेका छन् । 

फेरिएको राजनीतिक परिवेशका आधारमा पनि महाधिवेशन प्रतिनिधी धेरै नबनाउने र थोरै प्रतिनिधिका बीचमा वृहत्तम छलफल गरेर नयाँ नेतृत्व चयन गर्न सजिलो हुने भन्दै ओलीले १२ सय बढी प्रतिनिधि नहुने विधि खोज्न नेताहरुलाई निर्देशन गरेका हुन् । 

तर ओलीले आफै अध्यक्ष हुन कम प्रतिनिधि ल्याउन सहज हुने ठानेर त्यस्तो योजना बनाएको आरोप इतर पक्षले लगाउन थालेको छ । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि सङ्घीय निर्वाचन क्षेत्रस्तरमा आन्तरिक निर्वाचन गराउने गरेको छ ।

अहिले मुलुक विषम परिस्थितिमा रहेको र पार्टी एकतालाई अझ मजबुत बनाउनुपर्ने कारण प्रतिनिधि चयनमा निर्वाचनको विधि नअपनाउने गरी अरु विकल्प के हुनसक्छ भन्नेमा समेत गृहकार्य गर्न ओलीले निर्देशन दिएको बताइन्छ ।सोही आधारमा मस्यौदा बनिरहेको एमाले स्रोतले जनाएको छ ।