'केपी ओली र रमेश लेखकलाई कारबाही गर'

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १० : २९
'केपी ओली र रमेश लेखकलाई कारबाही गर'

काठमाडौ । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।

४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज (सेप्टेम्बर २१ तारखि) विज्ञप्ति जारी गरी शान्ति समाजले आन्दोलनका क्रममा नागरिक हत्यामा संलग्न तत्कालीन सरकारका जिम्मेवार सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो। 

समाजका सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मूलत: भ्रष्टाचारको विरोधमा जेनजीद्वारा आह्वान गरिएको भदौ २३-२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौँ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही थाल्नुपर्छ।’

गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सरकारले दमन गर्दा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।अझै कैयौँ घाइते अस्पतालमा छन्। 

आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ।

समाजको विज्ञप्तिमा आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ। 

समाजले भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरेको छ। 

विज्ञप्तिमार्फत शान्ति समाजले पूर्वविशिष्ट व्यक्तिहरूलाई राज्यको ढुकुटीबाट दिइँदै आएका सेवा-सुविधा कटौती गर्न, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि विशेष मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्न सुझाव पनि दिएको छ।

यसैगरी समाजले अन्तरिम सरकारले सबै नागरिकका लागि अभिभावकको भूमिका निर्वाह गर्दै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पनि आग्रह गरेको छ।