मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो ।
प्रदेश सभा भवन क्षतिग्रस्त हुँदा ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ । हेटौँडामा रहेका अन्य सरकारी संरचना, मन्त्रालय तथा कार्यालयमध्ये सबैभन्दा ठुलो क्षति प्रदेश सभा भवनमै भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आगजनीबाट पाँच वटा भवन, ३ वटा चार पाँग्रेगाडी, ६ वटा दुई पाँग्रे मोटरसाइकल र कार्यालयका सबैजसो सामानमा क्षति पुगेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताएका छन् । भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायतका महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको छ ।
त्यस्तै प्रदेश सभासँगै रहेका काँग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । दलका अभिलेख, कागजात र उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आन्दोलनकै क्रममा प्रदेशसभाभित्र र वरपर रहेका सवारीसाधनमा पनि आगजनी गरी क्षति पुर्याइएको छ ।
१२ करोड २९ लाख लागतमा निर्माण गरिएको बागमती प्रदेश सभाको नयाँ भवन गत २७ साउनमा मात्र औपचारिक रूपमा उद्घाटन गरिएको थियो । निर्माण सुरु भएको २०७७ मङ्सिर १० गते शिलान्यासबाट सुरु भई करिब सात वर्षमा सम्पन्न भएको भवनमा जम्मा तीन वटा बैठकहरू मात्र सम्पन्न हुन पाएका थिए ।
तर आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा आगजनी गरेपछि, भवन पूर्णरूपमा ध्वस्त भएको हो । भवन निर्माण गर्न झन्डै सात वर्ष लागेको थियो । जेन—जी आन्दोलनको पहिलो माग प्रदेशको खारेजी रहेको थियो । भवनमा व्यापक क्षति पुगेपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको अभाव सिर्जना भएको छ ।
बागमती प्रदेश सरकारले नयाँ भवन निर्माणका लागि आवश्यक बजेट अभावका कारण तत्कालीन अवस्थामा सभा सञ्चालनका लागि विकल्पको खोजी गरेको छ । हालसम्म प्रदेशसभा भवनअन्तर्गत पार्किङका लागि प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी रूपमा बैठक स्थल बनाउने तयारी भइरहेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताएका छन् ।
उनकाअनुसार क्षतिग्रस्त भवनको सूक्ष्म प्राविधिक अध्ययन भइरहेको छ र ईन्जिनियरको प्रतिवेदनको आधारमा मात्र मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइनेछ । विनियोजित बजेट नभएकाले संरचनाको पुनर्निर्माणका लागि समय लाग्ने उनले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभा: दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक बस्दै