काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले फुटाएर नेकपा एस गठनको चार वर्ष पूरा गरेको दिन शुभकामना सन्देश जारी गर्दै नेपालले विश्व कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य मजदुर किसान तथा उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गर्दै वर्गविहीन समाज, न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु नै भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कम्युनिष्ट आन्दोलनले जन्मैदेखि सामन्तवाद, साम्राज्यवाद र निरङ्कुश शासनविरुद्ध सङ्घर्ष गर्दै राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकालाई प्रमुख एजेन्डा बनाउँदै आएको छ । यस आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको मुक्ति र समाजवाद हुँदै वर्गविहीन समाज निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।’
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोह गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यसले स्थापनाकालमै कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ। हाम्रो पार्टीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको छ ।’
अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा अनेकौँ विकृति र विसंगति विद्यमान छन्, जसका विरुद्ध केवल नेता-कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव