‘कैलाश पर्वतको अनुभव अब गणेशस्थानमा गर्न पाइन्छ’

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १६ : ३३
‘कैलाश पर्वतको अनुभव अब गणेशस्थानमा गर्न पाइन्छ’

पवित्र धार्मिक स्थल देवघाटधामको समिपमा रहेको भरतपुर महानगरपालिका वडा नं ११ मा अवस्थित गणेशस्थान मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लागिएको छ । 
पौराणिक कालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सनेको राज्यकालमा बनेको भनिएको गणेस्थान क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्बद्र्धन समितिले श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सवको आयोजना गरेको छ । 
यही मंसिर २२ गतेदेखि २९ गतेसम्म हुने महायज्ञबाट २० करोड संकलन गर्ने लक्ष्य राखिएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउन १७ वटा गुरुयोजना तयार पारिएको छ । 
कस्ता गुरुयोजना तयार भएका छन ? समग्रमा गणेशस्थान मन्दिर क्षेत्र अब कस्तो बन्दैछ ? यी समष्टिगत विषयहरुमा केन्द्रित भएर गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेसँग सफल खबरका पत्रकार बाबु कृषभले गरेका कुराकानी :

१) गणेशस्थान क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजिएको हो ?

– भरतपुर ११ मा रहेको गणेशस्थान मन्दिर क्षेत्रलाई संरक्षण र सम्वद्र्धन गर्दै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । यसलाई पर्यटकीय गन्तव्य बनाउनकै लागि धन धान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । 
यतिबेला महोत्सवको तीव्र तयारी भइरहेको छ । यहाँका पुराना मठमन्दिरहरु छन् । देवघाटपछि भरतपुर महानगरभित्र यति धेरै मठमन्दिरहरु अन्यत्र छैन । 
यहाँ सरस्वती मन्दिर, कमलेश्वर महादेवको मन्दिर, सन्तोषीमाताको मन्दिर, पशुपतिनाथको मन्दिर, मनकामनाको मन्दिर, चण्डेश्वरी मन्दिर, धर्मशाला, विश्वकर्मा मन्दिर, ऐतिहासिक इनारलगायत थुप्रै पुरातात्विक मठमन्दिरहरु छन् । 
यिनीहरुको पुनःनिर्माण, प्रचारप्रसार र थप संरचना बनाउन सके गणेशस्थान मन्दिर भरतपुर महानगरको मात्र होइन, देशकै पर्यटकीय धार्मिक गन्तव्य बन्न सक्छ । 
यसकै लागि आध्यात्मिक महोत्सव गर्न लागिएको हो । महोत्सवबाट उठेको रकमबाट गणेस्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन मद्दत पुग्नेछ । 

२) गणेशस्थानलाई कस्तो बनाउन खोज्दै हुनुहुन्छ ?
 
गणेशस्थान मन्दिर क्षेत्रको क्षेत्रफल २.४३ हेक्टर अर्थात् साढे ४ बिघा छ । यससँग जोडिएका नवजागृति सामुदायिक वन र जलदेवी सामुदायिक वन छन् । 
यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सोचका साथ बृहत् गुरु योजना तयार पारिएको छ । देशकै प्रमुख धार्मिक गन्तव्य देवघाटबाट गणेशस्थान करिब ४ किलोमिटरमात्र छ । 
देवघाट आउने भक्तजनहरुलाई गणेशस्थान पनि ल्याउने योजना हामीले बनाएका छौँ । गैंडाकोटमा रहेको मौलाकालिका पनि गणेशस्थानबाट नजिकै पर्छ । 
त्यहाँ आउने धार्मिक पर्यटकहरुलाई भरतपुर ११ मा रहेको गणेशस्थान पनि एकपटक पुग्नै पर्छ भन्ने ठाउँ बनाउन हामीले खोजिरहेका छौँ । सौराहा, पटिहानी, मेघौली आउने पर्यटकलाई पनि गणेशस्थानले बोलाउन सक्ने बनाउन हामी खोजिरहेका छौँ । 
त्यतिमात्र नभएर नवलपुरको सिजी हेर्न आउने पर्यटकलाई गणेशस्थानले पनि बोलाउन सक्छ । हामी त्यो अनुसार गुरुयोजना तयार पारेका छौँ । विशुद्ध गणेशस्थानलाई आधुनिक ढाँचाको धार्मिक पर्यटकीय गन्तव्य बनाउन लम्केका छौँ । 

३) गणेशस्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन कस्ता गुरुयोजना बनाइएको छ ?

गणेशस्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन तत्काललाई हामीले १७ वटा गुरुयोजना बनाएका छौँ । विभिन्न विज्ञहरुको सल्लाहसुझाव बमोजिम गुरुयोजना थप हुन सक्नेछ । गणेशस्थानको प्रमुख आकर्षक भनेका पञ्चमुखी गणेशको मूर्ति हुनेछ । २५ फिटको गणेशको मूर्ति बनाइने हाम्रो गुरुयोजना छ । सुन्दर तलाउको बीचमा कमलको फूलमाथि गणेशको मूर्ति हुनेछ । गणेशको मूर्ति वरिपरि पानीको फोहोरा हुनेछन् । 
गणेशस्थान क्षेत्रको हाल रहेको भीमसेन गुठीको भवनभन्दा माथिल्लो डाँडालाई विशाल कैलाश पर्वतको नुमना बनाइनेछ । कैलाश पर्वतमा शिव पार्वती र कुमार गणेशको आकर्षक मूर्ति हुनेछ । 
अब कैलाश पर्वतको अनुभव गणेशस्थानमा शिव पार्वतीसँग बसेर गर्न पाइन्छ । कैलाश पर्वतको तल्लो समथर भागमा नेपाली शैलीको आकर्षक मण्डला बनाइनेछ । गंगा आरतीको स्थल हुनेछ । 
यसबाहेक अहिले रहेका दर्जनौं मन्दिरहरुलाई नेपाली शैलीमा आकर्षक तरिकाले सम्बद्र्धन र स्तरवृद्धि गरिनेछ । सबै मठमन्दिरहरु नेपाली शैली झल्कने खालको बनाइनेछ । गणेशस्थान मन्दिर क्षेत्रमा रहेको पुँगी खोलालाई बाँध लगाएर तलाउहरु निर्माण गरिनेछ । 

४) घुमफिर गर्दै रमाउन आउने युवा वर्गहरुलाई पनि आकर्षण गर्ने खालको संरचनाहरु बनाउन लागिएको हो ?

हामी गणेशस्थानलाई ‘मल्टीपल’ धार्मिक गन्तव्य बनाउन खोजिरहेका छौँ । हामी सबै वर्गहरुको लागि यो आकर्षक गन्तव्य होस् भन्ने चाहन्छौँ । युवाहरुलाई रमाउने प्रशस्त ठाउँहरु हुन्छन् । 
आकर्षक नमुना पार्क बनाइनेछ । पार्कमा बसेर युवाहरु आनन्ददायिक हुन सक्छन् । मनोरञ्जनको लागि पिकनिक स्थलको व्यवस्थासमेत गरिनेछ । तलाउमा हल्लिने खालका दुई वटा झोलुङ्गे पुल निर्माण गरिनेछ । 
जहाँ युवाहरु हल्लिएर मनोरञ्जन लिन सक्छन् । मर्निङवाक र साइकिलिङको लागि छुट्टाछुट्टै बाटो बनाइनेछ । तस्बिर खिच्न ध्यानाकर्षण गर्ने खालका मूर्तिका संरचनाहरु बनाइनेछ । 
जहाँ युवाहरु सेल्फी खिच्न झुम्मिन्छन् । तलाउका किनारहरुमा आकर्षक बगैँचाहरु बनाइन्छ । यसबाहेक चितवन चिनाउने हात्ती, गैंडा, चित्तललगायतका वन्यजन्तुको मूर्तिहरु पनि बनाइनेछ । 
त्यसैले सबै खालका पर्यटकहरुलाई आकर्षण गर्ने खालको संरचनामा हाम्रो ध्यान गएको छ । गुरुयोजना पनि त्यस्तै तरिकाले बनाइएको छ । 

५) यसबाहेक गुरुयोजनामा अरु केके छन् ?

बौद्धिक सनातन हिन्दू धर्म सेवा केन्द्रीय समितिद्वारा बहुउद्देश्यीय सभाहललाई नेपाली शैलीमा ३ तलाको बनाइनेछ । वैवाहिक कार्यक्रमको लागि आवश्यक विवाह मण्डप र आकर्षक कार्यक्रम हल निर्माण गरिनेछ । सामुदायिक वनसँग सहकार्य भएको जमिनभित्र दर्शनीय भौतिक संरचनाहरु निर्माण गरिनेछ । 
सम्पूर्ण भागको अवलोकन गर्न मिनिरेलको समेत व्यवस्था गरिनेछ । व्यवस्थित पार्किङ स्थल, पर्यटक आकर्षण गर्ने थप संरचनाहरु पनि बनाइनेछ । 

६) गुरुयोजनाअनुसार यी सबै संरचनाहरु निर्माण गर्न महायज्ञबाट उठेको रकमले त नपुग्ला, अन्य आयस्रोत कहाँबाट जुटाउने योजना छ ?

गणेशस्थान क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनको लागि बनाइएको १७ वटा गुरुयोजनाको निर्माण पूरा गर्न ५ वर्ष लाग्ने अनुमान गरिएको छ । गुरुयोजनामा भनेबमोजिमका संरचनाहरु खडा गर्न ८० करोड लाग्ने अनुमान गरिएको छ । 
यो सबै रकम त ज्ञान महायज्ञबाट त उठ्न सम्भव छैन । हाम्रो लक्ष्य महायज्ञबाट २० करोड उठाउने लक्ष्य छ । अहिलेको माहोल हेर्दा महायज्ञबाट सजिलै २० करोड उठाउन सक्ने देखिन्छ । 
महायज्ञ सकिनसाथ हामीले गणेस्थानको गुरुयोजनाअनुसार निर्माण कार्य थाल्ने योजना बनाएका छौँ । काम सुरु नगर्दासम्म रकम उठ्दैन कि, निर्माण पूरा हुँदैन कि, जस्तो लाग्नु स्वभाविक पनि हो । 
तर निर्माण हुन थालेपछि सहयोगी दाताहरु थुप्रै आउँछन् भन्ने हामीलाई विश्वास छ । हामीले सुरुमा महायज्ञबाट उठेको रकमले काम सुरु गर्ने हो, त्यसपछि काम गर्दैजाँदा, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारबाट पनि हामीलाई आर्थिक सहयोग आउनेछ । 
अन्य थप्रै दाताहरुबाट, विदेशमा बसेका नेपाली दाजुभाईहरुबाट स्थानीय दानवीरहरुबाट आर्थिक सहयोग आउने अपेक्षा हामीले गरेका छौँ । हामीलाई लागेको छ, हामी सफल हुनेछौँ ।

यस्तो बन्नेछ गणेस्थान :

प्रतिक्रिया दिनुहोस