ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०८२, १९ : ३४
ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन

काठमाडौ  l नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारका उपलब्धी दाबी गर्दै संसद्‍मा प्रस्तुत गरेका फेहरिस्तलाई मिथ्यांकको संज्ञा दिएका छन्।

  बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर संसद् र आमजनतालाई ढाँटेको टिप्पणी गरे।  प्रधानमन्त्री ओलीले बुधबार संसद्लाई सम्बोधन गर्दै आफू नेतृत्वमा सरकार बनेयता मुलुकको अर्थतन्त्र लयमा फर्किएको, विकास निर्माणले गति लिएको, सुशासन कायम भएको जस्ता दाबी गरेका थिए।

पुनले भने ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोप लगाए।‘सरकारले एकपछि अर्को बेथिति र भ्रष्टाचारका श्रृंखलाहरू अघि सारेका कारण जनतामा चरम निराशा छाएको बेला सम्माननीय प्रधानमन्त्रीज्यूले यस सम्मानित संसद्मा सरकारी प्रगतिहरुको फेहरिस्त प्रस्तुत गर्नुभएछ,’ पुनले भने, ‘उहाँको बोली सुन्दा यस्तो लाग्छ, मानौं देशमा कुनै समस्या छैन, विकास दू्रत गतिमा भइरहेको छ। सुशासनका कैयन मानक बनिरहेका छन् र सरकारको विरोध गर्नेहरु सबै मगजविहीन हुन्। तर प्रधानमन्त्रीज्यू, तपाईले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरुको चीरहरण भइरहेको किन बिर्सिनुभएछ? तपाईले स्वास्थ्यका तथ्यांक प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईहरुको भागवण्डा चलिरहेको थियो। तपाईको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए। तपाईलाई अलिकति पनि लाज लागेन?’
उनले आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरु सकारात्मक भएको दाबीको पनि खण्डन गरे। ‘अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा आर्थिक परिसूचक रातारात सकारात्मक हुँदैनन, निराशाको चक्रव्यूहबाट निकै मेहनत साथ काम गरिएको कारणले केही कुरा सकारात्मक देखिएको हो,’ पुनले भने, ‘तर अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकांकहरुमा कुनै सुधार छैन। बाणिज्य बैंकहरुको व्याजदर घटेर साढे ६/७ प्रतिशतमा आइसक्यो। बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। उद्योगी–व्यवसायीहरु ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन्?’

भारतबाट उच्च मात्रामा कच्चा पदार्थ आयात गरेर प्रशोधित पाम आयल निर्यात गरिएका कारण निर्यात व्यापारमा भएको वृद्धिलाई प्रधानमन्ी अर्थतन्त्र सुधारको आधारका रुपमा प्रस्तुत गर्नु ‘सुनिएर मोटाउनु’जस्तै भएको टिप्पणी पनि उनले गरे। राजस्व संकलन र पूँजीगत खर्चको अवस्था हेर्दा सत्तारुढ कांग्रेस-एमाले लजाउनुपर्नेमा गर्वका साथ सम्मानित संसद्.मा उभिएर दुनियाँलाई उल्लु बनाउन मिथ्यांक प्रस्तुत गरेको आरोप उनको छ। 

‘तपाईले त यो अवस्था ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कुलमान घिसिंगलाई बर्खास्त गरेर ठूलो सफलता पाइसक्नुभयो, म सोध्न चाहन्छु– २२ अर्ब बक्यौता भएका उद्योगहरुबाट के कति रकम असुली गर्नुभयो भन्ने कुरा किन अटेन तपाईको सम्बोधनमा?,’ पुनको प्रश्न छ, ‘प्राधिकरणको नेतृत्व परिवर्तन गरेपछि कति चुहावट बढ्यो? फेरि बक्यौता नतिर्नेहरुलाई चोख्याउन तपाईकै मन्त्रीका कसरतबारे आजै समाचार आएका छन्। यसको जवाफ किन दिनुभएन?’

सरकारमा आउने बित्तिकै रातारात मुग्लिन–पोखरा नारायणगढ, सडकखण्डमा चमत्कार गरेको ओलीको दाबीमा खण्डन गर्दै उनले २०७८ मै बनिसक्नुपर्ने उक्त सडक खण्ड अहिलेसम्म पनि पुरा नहुनुमा कसको दोष हो भन्ने प्रश्न गरे। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले कीर्तिपुरस्थित रंगशालाको चर्चा गर्नुभएछ। अस्ती त तपाईले प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन नसकिँदै फेसबुकमार्फत रंगशाला भौतिक प्रगतिको कुरा गर्नुभयो, सुनकोसी मरिन डाइभरर्सनको अवस्था के छ? के कति प्रगति भयो यो एक वर्षमा? यसमा पनि भागबण्डा गर्दै हुनुहुन्थ्यो। पिस पिसमा दुई पार्टी मिलेर। जगदुल्लाको टेण्डर कहाँ पुग्यो? रोशी खोलकाको पुनर्निर्माण खै ? महाकाली करिडोरको काम त प्रचण्ड प्रधानन्त्री हुँदै ९५ प्रतिशत सकिएको होइन, अन्तिममा भेरिएसन अर्डर पास गरेर बाँकी काम सम्पन्न हुनुपर्नेमा किन भएन त्यो अझै पुरा? गृहमन्त्रीकै निर्वाचन क्षेत्रमा एक वर्षमा ५ प्रतिशत काम सकिएन? कहाँ मिलेन स्वार्थ? कि त्यो ५ प्रतिशत बाँकी काम पनि पिस पिसमा भागवण्डा गर्ने हो? अरु राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिकिन दिनुभएन सम्मानीत सदनमा?’ 

अघिल्लो वर्ष किसानले समयमै सिंचाई र मलखाद पाए पनि यो वर्ष सरकारको अयोग्यताका कारण किसान पीडित भएको पुनले उल्लेख गरे। 
प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतमा संसदमा यही कुरा एक महिना अघि उठाउँदा पनि ध्यान किन नगएको भन्दै उनले फेसबुकमा खेतहरु हराभरा भएका तस्बिर पोष्ट गरेर आत्मरतिमा रमाएको टिप्पणी गरे। 

ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको पनि पुनले प्रतिवाद गरे। ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई  ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्,’पुनले भने, ‘यो मेरो भनाइ होइन, सम्मानीय प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो। उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जम्मेवारी उहाँकै हो। तर, प्रधानमन्त्रीज्य ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ? कसले गृहमन्त्री बनाएको रहेछ?’

पासपोर्ट छपाई जस्तो संवेदनशील ठेक्कामा मिलेमतो गरेर प्रधानमन्त्री र काँग्रेस सभापतिनिकट विवादास्पद व्यापारीलाई सुम्पिने काम भएको भन्दै पुनले आपत्ति जनाए। 

पोखराको १ सय ३५ रोपनी लिची बगैंचा हड्प्न गरिएका घूस डिलका शृंखलावद्ध भिडियोहरू बजारमा छ्पाप्छ्याप्ती भए पनि घूस डिलमा संलग्न मन्त्रीलाई आडमै राखेर प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न भनिरहेको उनको आरोप छ। ‘

प्रतिक्रिया दिनुहोस