भिजिट भिसा प्रकरणको आन्दोलनलाई थप प्रभावकारी बनाउने रास्वपाको निर्णय

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, २० : ०९
भिजिट भिसा प्रकरणको आन्दोलनलाई थप प्रभावकारी बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । 

पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सशक्त ढंगले सडक र सदनबाट उठाउने निर्णय गरेको हो । 

बैठकमा चालु बजेट अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिएको प्रमुख सचेत सन्तोष परियारले जानकारी दिए ।

‘संसद‍्मा जनताको मुद्दा स्थापित गर्न सफल भयौँ,’ उनले भने, ‘राज्यले नीति बनाएर जनतालाई दुःख दिएको मुद्दा संसद‍्मा स्थापित गर्न सफल भयौँ, साथै भ्रष्टाचारका अन्य मुद्दासमेत उठान गर्‍यौँ ।’

 

पार्टीले गरेको आन्दोलनका कारण जनता आफ्ना मुद्दा रास्वपाले छाडेन भन्ने अनुभूति गरेको उनको दाबी छ । ‘संख्याका आधारमा दम्भ देखाउने सत्ताधारीसँग रास्वपाले सम्झौता गरेन भन्ने नागरिकबाट सन्देश पाएका छौँ,’ उनले भने, ‘त्यसलाई कायम राख्दै संवादको ढोका पनि खुला राखेर संसद‍्मा जारी भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यससँग सम्बन्धित अन्य मुद्दालाई लिएर आन्दोलन जारी राख्ने निर्णय गरेका छौँ ।’ साथै जनताका मुद्दा छाड्नु भनेको बेइमानी हुने निष्कर्षमा पार्टी पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस