नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, ११ : ०३
नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

काठमाडौँ । नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले नौ वर्षपछि मिति तय भइनसके पनि यसैसाताभित्र बैठक बस्ने तयारी भएको जानकारी दिए।

लेखकका अनुसार बैठकमा सीमा समस्या, सीमामा हुने अपराधको नियन्त्रणलगायत विषयमा छलफल हुने छ। यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्व रहेको हुन्छ।

अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सीमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भएपनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने गरेको लेखकले बताए।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू र भारतीय पक्षका पनि निकायका प्रतिनिधिहरूको बैठकमा उपस्थिति रहनेछ।

प्रतिक्रिया दिनुहोस