पटिहानी पर्यटकीय गन्तव्यमा पर्नु सुखद : महतो

शनिबार, ०८ मंसिर २०७५, १३ : ०२
पटिहानी पर्यटकीय गन्तव्यमा पर्नु सुखद : महतो

चितवन । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य रामलाल महतोले नेपाल भ्रमण वर्ष २०२० का लागि पटिहानी देशका १०० पर्यटकीय गन्तव्यभित्र पर्नु सुखद भएको बताउनु भएको छ । शनिबार पटिहानीमा भरतपुर महानगरपालिका वडा नम्बर २२ ले आयोजना गरेको पर्यटकीय गन्तव्यमा सुचिकृत पटिहानी पर्यटकीय क्षेत्रको सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

प्रदेश सांसद महतोले यहाँ रहेका आदिवासी, जनजाति, परम्परागत धर्म, संस्कृति, जल, जंगल र जनावरको संरक्षण गरेर पटिहानीको गरिमा बढाउनुपर्ने बताउनु भयो । पटिहानीले आफ्नो विशिष्ट पहिचान बनाउनु पर्ने बताउँदै उहाँले यसका लागि आआफ्नो तर्फबाट सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयोे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन देशकै तेस्रो पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको भन्दै त्यसको केन्द्र भरतपुर भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि समेत रहुनु भएकी दाहालले भरतपुर महानगरपालिकामा धार्मिक, साँस्कृतिक, पर्यटन विकास, शिक्षा र स्वास्थ्यको प्रमुख सम्भावना रहेको बताउनु भयो । भरतपुर महानगरपालिका यसको समुचित विकास र व्यवस्थापन गर्दै पर्यटनको विकासमा लागिरहेको जानकारी दिनुभयो । पर्यटनको विकासमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न सकिने बताउँदै उहाँले चितवनमा रहेका चार वटा गन्तव्यमध्ये भरतपुर महानगरपालिकामा दुई वटा गन्तव्य समावेश हुनु सुखद भएको बताउनु भयो ।

उहाँले हिल स्टेसनको रूपमा रहेको पहाडी भाग जुगेडी, चौकीडाँडा र रापती–नारायणी नदीको संगम गोलाघाट, रापती र चितवन राष्ट्रिय निकुञ्जको साँध पटिहानी साँच्चै पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय पूर्वाधार निर्माणमा भरतपुर महानगरपालिकाले विशेष सहुलियतका कार्यक्रमहरू संचालन गरेको जानकारी गराउँदै प्रमुख दाहालले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले देवघाट, गोलाघाट, चौकीडाँडा, जुगेडी, पटिहानी, जगतपुर, सौराहा, सिराइचुली, वाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र रापती नदी रहेको चितवन देशकै दोस्रो गन्तव्य बन्ने बताउनु भयो । पर्यटन विकासका लागि सडक र सञ्चारको उचित कनेक्टीभिटी बढाउनुपर्ने  उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले मन्तव्य राख्दै पटिहानीको पर्यटकीय विकासको सम्भावनालाई कसैले रोक्न नसक्ने बताएका थिए  । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष महतोले पटिहानी पर्यटनको उदाउँदो केन्द्र भएको बताउनु भयो । 

उहाँले पटिहानीको बारेमा जानकारी दिँदै यहाँ दर्जनको हाराहारीमा तारे होटलहरू संचालनमा रहेको र निर्माणाधीन तारे होटलहरु रहेको बताउनु भयो । उहाँले रापतीमा जल यात्रा, साना तथा मझौला थुप्रै होटल रिसेर्टहरू, एकसिङ्गे गँैडा अवलोकन, पाटेबाघ अवलोकन, जिप सफारी, हात्ती सफारी, निर्माणाधिन अमेरेला भ्यू टावर, सयाँै प्रजातिका चराहरूको अवलोकन, घडियाल गोही प्रजनन केन्द्रको अवलोकन लगायत पटिहानीमा पर्यटन आकर्षणको लागि प्रचुर सम्भावना बोकेका ठाउँहरु रहेको बताउनु भयो । यसलाई व्यावस्थित गर्दै लैजानुपर्ने उहाँको भनाई थियो । 
 

प्रतिक्रिया दिनुहोस