इश्वर पोखरेल पक्षको रणनीति : पदाधिकारीमा कम्तीमा ५० प्रतिशत जित्ने दाउ

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, ०९ : ०९
इश्वर पोखरेल पक्षको रणनीति : पदाधिकारीमा कम्तीमा ५० प्रतिशत जित्ने दाउ

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता छ । अध्यक्षका लागि केपी ओली र इश्वर पोखरेलले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धा गर्ने भएपछि दुवै पक्ष टिमको उम्मेदवार ब्यवस्थापनमा जुटेका छन् । 

ओली पक्षभित्रको असन्तुष्टिमा खेलेर केही उम्मेदवार तान्ने रणनीतिमा रहेको पोखरेल पक्षलाई विधान संशोधन गरेर ओलीले चक्मा दिएपछि केही अप्ठेरोमा देखिएको पोखरेल पक्षले कम्तीमा ५० प्रतिशत उम्मेदवारले चुनाव जित्ने रणनीति बनाएको छ । 

ओली पक्षले दिने उम्मेदवार हेरेर त्यस आधारमा आफनो टिम निर्माण गर्ने र त्यसैभित्र ओली पक्षका असन्तुष्टिमा खेलेर आफनो पक्षका कम्तीमा ५० प्रतिशत पदाधिकारीलाई जसरी पनि चुनाव जिताउने रणनीतिमा पोखरेल पक्ष जुटेको छ । 

अध्यक्षमा सकभर पोखरेललाई जिताउन पूर्व राष्ट्रपति विधा भण्डारी खुलेरै लाग्ने र नसकिएपनि महासचिव भने जसरी पनि आफनो टिममा पार्ने रणनीतिक योजनामा पोखरेल पक्ष छ । ओली पक्षले महासचिवमा शंकर पोखरेल या प्रदीप ज्ञवाली मध्ये एकलाई उम्मेदवार बनाउनेछ । पृथ्वीसुब्बा गुरुङले महासचिव दावी छोडेपछि ओली र विष्णु रिमालले शंकर पोखरेललाई अगाडी सार्न खोजेका छन् । तर ओली पक्षका विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले भने शंकरलाई महासचिव रोकेर प्रदीप ज्ञवालीलाई महासचिव बनाउन लविइङ गरिरहेका छन् । 

पोखरेल पक्षले यही यथार्थता बुझेरै महासचिवमा आफ्नो टिमबाट बलियो उम्मेदवार अगाडी सार्न खोजेको छ । पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव उम्मेदवार बनाउन लागेको छ  । विगतमा इश्वर पोखरेलसँगै महासचिव चुनाव भिडेर जम्मा ६ मतले मात्र पराजित भएका पाण्डे एमालेभित्र बलियो उम्मेदवारका रुपमा चिनिन्छन् । उनलाई महासचिव उम्मेदवार बनाउने पोखरेल पक्षले करिव तयारी गरिसकेको छ ।

शंकर पोखरेललाई ओलीले महासचिव अगाडी सारेमा ओली पक्षमा रहेका नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरुको भित्री सहयोग पाण्डेलाई हुनसक्ने सम्भाबना पनि देखिन्छ । ज्ञवालीलाई अगाडी सारेमा शंकर पोखरेल समुहका नेताहरुको साथ पाण्डेतिर ढल्किन सक्ने देखिन्छ । यही अन्तरविरोधमा खेलेर महासचिव भने जसरी पनि जित्ने रणनीतिमा पोखरेल समुह छ । 

त्यस्तै महासचिवमा दावी गरिरहेका योगेश भटटराईलाई उपमहासचिवमा उठाउने र अर्का नेता गोकर्ण विष्टलाई उपाध्यक्ष उम्मेदवार बनाउने यो समुहको तयारी छ । यसो गर्दा विष्ट, भटटराई र पाण्डे तीन जना उम्मेदवार नै चुनाव जित्न सक्ने बुझाईमा पोखरेल पक्ष छ । 

उपाध्यक्षमा विन्दा पाण्डे लाई अगाडी सार्ने गरी पनि पोखरेल समुहले छलफल गरिरहेको छ । रचना खड्कालाई उपमहासचिव उठाउने गरी छलफल छ । विन्दालाई उपाध्यक्ष, उपमहासचिव या सचिव मध्ये रोजेको पदमा टिकट दिने तयारी पोखरेल समुहको छ । गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल लगायत नेताहरु सचिवमा चुनाव लड्ने तयारीमा छन् । 

लोकप्रियताका आधारमा र ओली पक्षका अनुदार अनुहारका केही उम्मेदवारका कारण पनि आफनो टिमका नेताहरुले चुनाव जित्न सक्ने बुझाईमा पोखरेल पक्ष छ । खासगरी ५ उपाध्यक्षमा कम्तीमा २ उपाध्यक्ष जित्ने, महासचिव जित्ने, उपमहासचिवमा कम्तीमा एउटा जित्ने र सचिवमा ९ मध्ये ४ या ५ आफनो पक्षले जित्ने विश्वासमा पोखरेल समुह छ । 

जेनजी विद्रोहपछिको परिस्थिती, पार्टीभित्र ओलीको निरंकुशताका कारण अहिले नखुलेपनि मतदानका बेला महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने विश्वास पोखरेल समुहले लिएको छ 

प्रतिक्रिया दिनुहोस