अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु

एजेन्सी

आइतबार, २८ मंसिर २०८२, ०७ : ३६
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएका छन्। 

रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित विश्वविद्यालयको इन्जिनियरिङ भवनमा अन्तिम परीक्षा चलिरहँदा स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ४ बजे गोली चलेको थियो। घटनापछि क्याम्पस पूर्ण रूपमा 'लकडाउन' गरिएको छ र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लुक्न तथा ढोका बन्द राख्न निर्देशन दिइएको छ।

कालो कपडा लगाएका पुरुष संदिग्ध व्यक्ति घटनापछि पैदलै भागेको र अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले सुरुमा एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि अनुसन्धानपछि उनी निर्दोष देखिएकाले रिहा गरिएको थियो। घाइते आठै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर तर गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

घटना लगत्तै एफबीआई र स्थानीय प्रहरीले व्यापक खोजी कार्य जारी राखेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनालाई दुःखद भन्दै पीडितहरूका लागि प्रार्थना गर्न अपिल गरेका छन्। 

सुरक्षाको कारण देखाउँदै विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई अर्को सूचना नआएसम्म बाहिर ननिस्कन र सतर्क रहन आग्रह गरेको बीबीसीले खबर छापेको छ ।