टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ०६ असार २०८२, ०९ : ३३
टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ। नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो। तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो। पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ। स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनाएपछि नेपालले ८ विकेटको क्षतिमा १५२ रन नै बनाउँदा खेल सुपर ओभरमा गएको थियो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाउँदा नेदरल्यान्ड्सले समान र दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन बनाउँदा नेपालले समान रन बनाएपछि तेस्रो ओभरको पहिलो बलमा रोहित पौडेल पहिलो बल र रुपेश सिंह दुई डट खेल्दै तेस्रो बलमा आउट भएपछि नेपाल पराजित भएको थियो ।

नेपालको दोस्रो खेलमा स्कटल्यान्ड दुई विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा आठ विकेटको क्षतिमा पूरा गर्दै दुई विकेटको जित निकालेको थियो । तेस्रो खेलमा गएराति नेदरल्यान्ड्सले सात विकेटको क्षतिमा दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको क्षतिमा १८० रन बनाउँदै ६ विकेटको जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस