काठमाडौं । प्रतिनिधिसभा दुई सातादेखि अवरुद्ध छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले मुद्दा उठाएका छन् - ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथी छानविन या उनको राजीनामा ।
सत्तासिन दल र विपक्षी दलको सतहमा यो लडाँई देखिएपनि वास्तविक लडाइँ सत्ताको केन्द्रमै भइरहेको छ - नेतृत्व, दायित्व र विश्वासको । संसद सञ्चालन गराउने दायित्व सरकारको हुन्छ, र त्यसको नेतृत्व गरिरहेको दल एमाले र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको काँधमा त्यो जिम्मेवारी पर्छ । तर अहिले, त्यही काँधको जिम्मेवारीबाट ओली पन्छिएको अवस्था छ ।
संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री ओलीले कुनै निर्णायक पहल नगर्दा विपक्षी मात्र होइन, सत्ता साझेदार कांग्रेस आफै सक्रिय बन्न पुगेको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काको पहलमा विपक्षी दलहरूसँग संवाद सुरु भयो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयपछि प्रत्यक्ष संवादसमेत सम्भव भयो । सहमतिको मस्यौदा तयार पारिँदै थियो— संसद अवरोध अन्त्यको दिशामा एक कदम अगाडि बढेर ।
यदि अब पनि संसद अवरोध अन्त्य भएन भने दोषको भारी ओलीले मात्र होइन, सिंगो सत्ता गठबन्धनले बोक्नुपर्नेछ- जसले राजनीतिक स्थायित्वलाई पुनः संकटमा पार्न सक्छ ।
तर यही बिन्दुमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको असहजता सतहमा आयो । संसद अवरोध अन्त्यको सम्भावित सहमतिको मस्यौदाप्रति ओली नै अनिच्छुक देखिए । बरु, उनी विपक्षीहरूले सत्ता गठबन्धनभित्र खेल्ने प्रयास गरिरहेको आरोपसहित सार्वजनिक मञ्चहरुमा बोल्न थालेका छन् ।
ओली र देउवाबीच आधा–आधा कार्यकाल बाँडेर सत्तासाझेदारी गर्ने सहमतिमा बनेको यो गठबन्धन सरकार संविधान संशोधन र स्थायित्वको नारामा उभिएको थियो । तर १० महिनापछि न त संविधान संशोधनमा प्रगति देखिन्छ, न त स्थायित्वको अनुभूति हुन्छ। सरकारले कुनै उपलब्धि देखाउन नसकेको आलोचना प्रधानमन्त्री ओलीको काँधमा थपिँदै गएको छ ।
यही कारण, ओली अहिले सरकारका सफलताको मात्र होइन, असफलताको ‘अपजस’ पनि कांग्रेसले बोक्नुपर्छ भन्ने चाहनामा छन् । कांग्रेसले भने बाहिर ब्यक्त नगरेपनि भित्री बैठकहरुमा सरकारको सबै कार्यशैली ‘एमालेकरण’ भइरहेको आरोप लगाईरहेको छ । कांग्रेस नेता शेखर कोइरालाले भने यो अभिव्यक्ति बाहिर पनि ब्यक्त गर्न थालिसकेका छन् । दुबैतर्फबाट एकअर्कामाथि शंका, आरोप र असन्तुष्टि देखिन थालेपछि, सहकार्यभन्दा सत्ता–संघर्ष कांग्रेस र एमालेभित्र प्रस्ट देखिन थालेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नतासम्बन्धी विपक्षीको छानबिन मागसँगै प्रतिनिधिसभा अवरुद्ध बन्यो । संसदमा भिजिट भिसा घोटालाको छानबिन, जवाफदेहीता र नैतिक जिम्मेवारी माग भइरहँदा प्रधानमन्त्री ओलीले यसबारेमा अवरोध फुकाउने सूत्र खोज्न लागिपरेनन । न त संसद खुलाउने संवादमा उनी सहभागी भए, न कुनै फर्मुला अगाडि सारे । उल्टै, उनले विपक्षीको मागलाई अस्वीकार्य ठहर गर्दै एकोहोरो भाषणबाजीमै ध्यान केन्द्रित गरे ।
प्रधानमन्त्री ओलीको समस्या समाधानमा देखाउनु पर्ने सक्रिया नदेखेपछि र ओलीको निष्क्रियताले कांग्रेसलाई आफै अगाडि सर्न बाध्य बनायो । तर जब कांग्रेसले लिड गरिरहेको सहमतिप्रस्ताव निर्माण हुँदै थियो, प्रधानमन्त्री ओली फेरि असहज भए । सहमतिमा एमालेको पहलकदमी नदेखिनु वा ‘नहुनु’ आत्मघाती ठहर हुन सक्ने आँकलन गर्दै धेरै विश्लेषकहरूले अब ओली नेतृत्वको सरकारको क्षमतामाथि नै प्रश्न उठ्न थालेको ठानिरहेका छन् ।
राजनीतिक संवाद, सहमति र नेतृत्वको परीक्षण गर्ने क्षणमा प्रधानमन्त्री ओली किन पछाडि हटिरहेका छन् ? यो प्रश्न अहिले नेपाली राजनीतिक वृत्तमा गम्भीर रूपमा उठेको छ । ओलीको यो दूरीले सत्ताभित्रको अविश्वास, अनिश्चय र व्यक्तिगत स्वार्थको आभास दिएको छ । सत्ताको साझेदारी सत्ता सञ्चालनभन्दा सत्ताको मोहमा सीमित हुँदा संसद ‘गिरो’ बनेको छ- जसको मूल्य मुलुकले तिर्दैछ ।
संसद लोकतन्त्रको मूल थलो हो । त्यसलाई सञ्चालनमा ल्याउने, गतिशील बनाउने र जनताको आवाज सुन्ने वातावरण सिर्जना गर्ने जिम्मा सत्ता पक्षको हो । तर अहिले सत्तामा बसेकाहरू संसदको बाधक बन्न पुगेका छन् । जस-अपजसको हिसाब बराबरी गर्न खोज्दा, जिम्मेवारीको सन्तुलन भत्किएको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा न राजनीतिक पहल देखिन्छ, न सहमतिको चाहना । कांग्रेस भने विपक्षीसँग संवादको नेतृत्व लिँदै अगाडि बढेको छ । तर यसको अर्थ कांग्रेसले सत्ता गठबन्धनमा नै नियन्त्रण लिएको हो कि भन्ने ओलीको आशंका थप अवरोध बन्ने संकेत देखिएको छ ।
यदि अब पनि संसद अवरोध अन्त्य भएन भने दोषको भारी ओलीले मात्र होइन, सिंगो सत्ता गठबन्धनले बोक्नुपर्नेछ- जसले राजनीतिक स्थायित्वलाई पुनः संकटमा पार्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?