सम्बन्धको उतारचढाव : ओली र भण्डारी

एमाले राजनीतिमा निकटता, दूरी र सम्भावित द्वन्द्वको कथा

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०८२, २१ : २०
सम्बन्धको उतारचढाव : ओली र भण्डारी


शित्तल शर्मा 
काठमाडौं । केपी शर्मा ओली र विद्या भण्डारी - वाम राजनीतिका दुई प्रभावशाली नाम । एक जना प्रधानमन्त्री र अर्का एक जना पूर्व राष्ट्रपति । एउटा समय थियो, जब यी दुई नेताको सम्बन्ध ‘राजनीतिक विश्वास’ को नमूना मानिन्थ्यो । तर समयसँगै, शक्ति, भूमिका र महत्वाकांक्षाले सम्बन्धमा उतारचढाव ल्यायो । अहिलेको परिदृश्यमा यो सम्बन्ध पुनः नयाँ मोडमा आइपुगेको देखिन्छ – संभावित नेतृत्व प्रतिस्पर्धासहित ।

उत्कर्षको समय : समर्पण र समर्थन
२०५० जेठ ३ गते चितवनको दासढुंगामा मदन भण्डारीको निधनपछि विद्या भण्डारी नेपाली राजनीतिमा भावनात्मक र प्रतीकात्मक नेतृको रूपमा उदाइन् । २०१८ सालमा भोजपूरको गुराँसेमा पाण्डे परिवारमा जन्मिएकी भण्डारीको २०३९ सालमा मदन भण्डारीसँग विवाह भएको थियो ।

श्रीमान मदनको निधनपछि २०५० मा भएको उपचुनावमा एमालेले विद्यालाई उम्मेदवार बनाएको थियो । त्यसबेला विद्यालाई उम्मेदवार बनाउने र फेरि राजनीतिमा फर्काउन ओलीको ठूलो हात थियो । उपचुनावमा उनले कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ मा पराजित गरेर चर्चा पाइन् । त्यक्तिमात्रै होइन, उनले २०५१ को मध्यावधी निर्वाचनमा तत्कालिन सभामुख दमननाथ ढुंगानालाई काठमाडौं २ बाट पराजित गरिन् । त्यसपछि हो विधा भण्डारीको राजनीतिक उचाई बढेको ।

भण्डारी २०५४ सालमा करीव ७ महिना जनसंख्या तथा वातावरण मन्त्री बनिन् । त्यहि वर्ष उनी नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचत भइन् । २०६६ सालमा उनी रक्षामन्त्री बनिन् । २०६५ को बुटवल महाधिवेशनबाट एमाले उपाध्यक्षमा निर्वाचित भएकी विद्या २०७१ को काठमाडौं महाधिवेशनमा पनि पुनः उपाध्यक्षमै निर्वाचित भइन् ।

उनको यो राजनीतिक करिअरमा  कही न कही ओलीको साथ थियो । २०६५/६६ तिर पार्टीभित्र उनले ओलीको समूह रोजिन् । झलनाथ खनाल र माधव नेपालसँगको मतभेदमा पनि उनी ओली नजिक रहिन् । २०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री बन्ने क्रममा उनले सशक्त भूमिका खेलिने । त्यसबेला  भण्डारी स्वयं एमाले उपाध्यक्ष थिइन् । र, त्यसै वर्ष, ओली प्रधानमन्त्री बनेपछि भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय पनि ओलीले पार्टीमा लिए ।

खासमा त्यसबेला एमालेमा झलनाथ खनाललगायत नेता राष्टपति बन्न आकांक्षी थिए । तर ओलीले विधा भण्डारीलाई राष्टपति उम्मेदवार बनाउने निर्णय पार्टीमा लिए । अन्ततः त्यही निर्णयका आधारमा भण्डारी राष्टपतिको उम्मेदवार बनिन् र पहिलो पटक विद्या भण्डारीका लागि २०७२ कात्तिक ११ गते राजनीतिक जीवनमा उत्कर्षको दिन बन्न पुग्यो । ओली र भण्डारीको बीचमा  यो खालको  ‘राजनीतिक स्नेह’को उत्कर्ष थियो ।

ओली भने २००८ साल फागुन ११ तेह्रथुम जिल्लाको इवा २ मा जन्मिएका थिए । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सुरु गरेका ओलीले १४ वर्ष लामो जेल जीवन विताएका नेता थिए । पार्टीभित्र उनी अध्यक्ष नबन्दासम्म जहिल्यै प्रतिपक्षी भूमिकामा थिए । उनले त्यही क्रममा विधा भण्डारीको पनि साथ लिएर पार्टीभित्रको अन्तरसंर्घषमा भूमिका खेलेका थिए ।

राजनीतिमा ओलीलाई विद्या र विद्यालाई ओलीले कुनै न कुनै मोडमा एक अर्कालाई साथ दिँदै आएका थिए । यो खालको राजनीतिक सामिप्यता ओली र विद्याका बीचमा थियो ।  एमालेभित्र माधव नेपाल र झलनाथ खनालसँगको ओलीको संर्घष विद्याले साथ दिने गरेकी थिइन् ।

दूरीको थालनी : संवैधानिक विवाद र सत्ताको द्वन्द्व
राष्ट्रपति भएपछि भण्डारी शान्त र संयमित भूमिकामा सीमित रहने अपेक्षा थियो । पदीय जिम्मेवारीका हिसावले राष्टपति सेरोमेनियल (सम्वैधानिक)  पद थियो । उनी दोहोरिएर राष्टपति बन्ने अवस्था मिल्यो । २०७६र७७ पछि भण्डारीले सेरोमेनियल भूमिकामा बस्ने भन्दा  संवैधानिक गतिविधिमा सक्रिय भूमिका खेल्न थालिन् ।

विशेषतः केपी ओलीले नेकपा (तत्कालिन एमाले र माओवादी एकतापछि निर्माण भएको पार्टी) को विवादमा दुईपटक संसद विघटन गरे त्यसमा उनले राष्टपतिको भूमिकामै रहेर साथ दिइन् । अध्यादेश प्रमाणीकरण, प्रतिनिधिसभा पुनःस्थापना, प्रधानमन्त्री नियुक्ति जस्ता विवादमा उनले ओलीको पक्षमा निर्णायक कदम चालेको आरोप भण्डारीमाथी लाग्यो । तैपनि उनले ओलीलाई कुनै न कुनै रुपमा साथ नै दिइन् ।

उनी खासमा संसद विद्दटनको पक्षमा थिइननन् । तर पनि उनले ओलीलाई साथ दिएकी थिइन् । तर, अन्तिम अवस्थामा अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि भण्डारीमाथि आलोचना मात्र होइन, ओली समूहमै असन्तुष्टि बढ्यो । संसद विघटनका लागि ओलीले सिफारिस गरे, भण्डारीले हस्ताक्षर गरिन् । तर आलोचना भण्डारीले पनि खेपिन ।

जव उनीहरु दुबै सत्ताबाट बाहिरिए, त्यसपछि भने ओली र भण्डारीका बीचमा तितो सुरु भएको ओली र भण्डारीलाई नजिकबाट चिनेका एमाले नेताहरु बताउँछन् ।


संकोच र संवादहीनता : राष्ट्रपतिको कार्यकालपछि शून्यता
२०७९ मा राष्ट्रपतिबाट निवृत्त भएपछि भण्डारी सार्वजनिक रूपमै केही समय मौन रहिन् । उनले चाहेकी थिइन्, ओलीले आफुसँग प्रर्याप्त परामर्श गरेर पार्टी चलाउन् । तर ओलीले भण्डारीलाई स्पेश दिन चाहिनन् । त्यसपछि हो पार्टीभित्र ओलीसँगको संवाद भण्डारीको घट्दै गएको । पार्टीका आधिकारिक कार्यक्रमहरूमा उनी नदेखिनु, ओलीले समेत सार्वजनिक रूपमा उनको उल्लेख नगर्नु - यी सबैले ओली र भण्डारीका बीचमा  ‘दूरी’ बढाईरहेकै थिए ।

एमालेभित्र पनि ओली पहिले जस्तो सर्बमान्य हुन सकेनन । पार्टी विभाजन, पार्टीभित्र फरक मतमाथीको निषेधको राजनीति, आफुलाई केन्द्रविन्दु बनाउने शैली र ओलीपछि एमालेको अध्यक्ष बन्नसक्ने नेताहरुको खडेरी लगायतका कारण पनि भण्डारीले अबको एमाले नेतृत्व आफैले हाक्ने अवस्था खोज्न खोजिन् ।
बीचमा नेपालका कम्युनिष्टहरु एक भईसकेको अवस्थामा ओलीकै कारण फेरि चिरा परेको अवस्था थियो ।

त्यसलाई जोडन् सक्ने मियो भण्डारी बन्न सक्ने आवाज एमालेभित्र उठिरहेको थियो । उत्तरी छिमेकी मुलुक चीनले पनि भण्डारीलाई नेपालका कम्युनिष्ट एक बनाउन सक्ने मियो हुनसक्ने ठानेपछि भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किने सोचमा पुगिन् । उनले मुखै नखोलेपनि उनको गतिविधि र सक्रियताले अब एमालेमा उनी ओलीलाई नै टक्कर दिने नेतृका रुपमा आउने देखिएको छ ।

पुनः सक्रियता र प्रतिस्पर्धाको सङ्केत
२०८१ साल सुरु भएसँगै भण्डारीले फेरि सक्रियता देखाउन थालिन् - चीन भ्रमण, प्रदेशस्तरीय कार्यकर्ता भेटघाट, सामाजिक कार्यक्रमहरूमा निरन्तर उपस्थिति । साथै, एमालेभित्र असन्तुष्ट नेताहरूको एउटा वृत्त सक्रिय भएको छ, जसले ‘भण्डारी पार्टी नेतृत्वमा फर्कनुपर्छ’ भन्दै खुलेर मत राख्न थालेको छ ।

यी संकेतले ओलीलाई झस्काएको देखिन्छ । सोही कारण ओलीले पार्टी बैठकमा राष्टपति भण्डारीलाई सक्रिय हुन उक्साउने नेतामाथी कारवाहीको डन्डा चलाउने सम्मको चेतावनी दिएकै थिए । तर आज उनले पार्टीको विधार्थी संगठनमा खुलेआम भने -'पार्टीमा को अध्यक्ष, को महासचिव भन्ने छलफलै छैन। महाधिवेशनको घोषणा छैन। अनि बाहिर हल्ला गरेर पार्टी कमजोर पार्न खोज्ने ?'

ओलीको आज अखिल महाधिवेशनमा ब्यक्त गरेको भाषा र लय र भण्डारीले पनि मौका आएपछि बोल्ने भनी दिएको अभिब्यक्ति स्पष्ट छ - ओली र भण्डारीबीच भित्रभित्रै अस्वस्थ्य प्रतिस्पर्धा गहिरिँदैछ ।

प्रतिक्रिया दिनुहोस