मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, १६ : २३
मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य : ईश्वर पोखरेल

महेन्द्रनगर (धनुषा) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गरेका छन् । 

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टद्वारा जनकपुरको सरस्वती नमूना माध्यमिक विद्यालयलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले दुवै छिमेकीले हासिल गरेको आर्थिक विकास हाम्रा लागि प्रेरक छ भने । उनले दुवै देशको सहयोगबाट मुलुकलाई विकासको पथमा अग्रसर गराउन सकिने बताए । 

देशको सामाजिक–आर्थिक विकासका लागि चीन सरकारबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेता पोखरेलले नेपाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा सहायता बढाउन आग्रह गरे । 

 पूर्वमन्त्री जुलीकुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारले गरेको सहयोगको सराहना गरिन् ।विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक उन्नयनका निम्ति चीन सरकारबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरिन् । 

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा चीन सरकारले सहायता सामग्री हस्तान्तरण गरेको हो । आजै उक्त संस्थाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूति गृहलाई चिकित्सा उपकरण प्रदान गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस