काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जान लागेकी छन् । शुक्रबार (आज) राति बेइजिङतर्फ उड्ने तयारीमा रहेकी भण्डारी एमाले नेतृको हैसियतमा चीन जान लागेकी हुन्, जसले यस भ्रमणलाई केवल औपचारिक यात्राभन्दा पनि बहुआयामिक राजनीतिक संकेत दिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागको निमन्त्रणामा हुँदै गरेको पूर्वराष्ट्रपति भण्डारीको यस भ्रमणले नेपालको आन्तरिक वाम राजनीतिदेखि दक्षिण एशियामा चीनको रणनीतिक उपस्थितिसम्म गहिरो चासो पैदा गरेको छ ।
पूर्वराष्ट्रपति भए पनि राजनीतिक रूपमा अझै सक्रिय हुन खोजिरहेकी भण्डारीको चीन भ्रमण ‘पूर्वराष्ट्रपतिको’ रूपमा नभई एमाले नेतृको पहिचानसहित हुन लागेको छ ।
पूर्वराष्ट्रपति भए पनि राजनीतिक रूपमा अझै सक्रिय हुन खोजिरहेकी भण्डारीको चीन भ्रमण ‘पूर्वराष्ट्रपतिको’ रूपमा नभई एमाले नेतृको पहिचानसहित हुन लागेको छ ।
उनको भ्रमण टोलीमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, मन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्टजस्ता प्रभावशाली नेता छन् । यसले यस भ्रमणलाई केवल पार्टीस्तरीय कूटनीतिक यात्रामा सीमित नराखी चीनको व्यापक राजनीतिक लगानीको रुपमा हेर्नुपर्ने सन्देश दिन्छ ।
चीनको आशा र भण्डारीको भूमिका
चीनले लामो समयदेखि नेपालका वामपन्थी दलहरू(एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी)बीचको एकतालाई प्राथमिकता दिँदै आएको छ । २०७४ को चुनावपछिको वाम एकता र नेकपाको गठन चीनका लागि एउटा ‘मोडेल’ सफलता थियो । यद्यपि, त्यसपछि नेकपा विभाजन भएपनि चीनले त्यो ‘वाम एकता’ लाई पुनःस्थापना गर्न कूटनीतिक रूपमा सक्रियता देखाउँदै आएको छ ।
भण्डारीले राष्ट्रपति कार्यकालमै चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति खुलेर समर्थन गरेकी थिइन् । जसकाकारण पनि उनीप्रति चीनले विश्वास देखाएको देखिन्छ । अहिले उनको भ्रमणलाई चीनले नेपालभित्र वामपन्थी एकता वा समन्वयको सम्भावित कडीको रूपमा लिएको देखिन्छ ।
उनले जेठ १२ मा बेइजिङमा “छिमेकी मुलुकका राजनीतिक दलबीचको सम्बन्ध” विषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछिन्, जहाँ अन्य छिमेकी देशका नेताहरूको समेत उपस्थिति रहनेछ । यस कार्यक्रमले चीनको ‘पार्टी–टु–पार्टी’ कूटनीति र नेपालको सन्दर्भमा भण्डारीप्रतिको विश्वास उजागर गर्छ ।
त्यस्तै उनले ग्वान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपतिसँग मञ्च शेयर गर्ने सम्भावना पनि छ । गत वर्ष नै उनी चीन जान चाहेकी थिइन् । तर कुन हैसियतमा जाने भन्ने अन्यौलका बीचमा अहिले चिनियाँ कम्युनिष्ट पार्टीले एमाले नेतृकै रुपमा आमन्त्रण गरेपछि उनको यो भ्रमण हुन लागेको हो । त्यसमाथी उनलाई त्यहाँका उपराष्टपतिले एमाले नेतृकै हैसियतमा भेट पनि दिँदैछन् । यसले भण्डारी नेपालमा एमालेको भावी अध्यक्षको रुपमा आउनसक्ने बुझाईमा समेत चीन रहेको संकेत दिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले भेटवार्ता गर्ने उच्च तहका चिनियाँ नेता लिउ जियानचाओ हुन् । सीपीसी विदेश विभागका प्रमुख लिउसँग पूर्वराष्ट्रपति भण्डारीले सोमबार (१२ जेठमा) भेटवार्ता गर्नेछिन् ।
नेपालका कम्युनिष्ट नेताहरूको चीन मोह
पूर्वराष्ट्रपति भण्डारीको भ्रमणसँगै पछिल्लो एक वर्षमा नेपालका वामपन्थी नेताहरू चीनसँगको सम्बन्ध सुदृढ गर्न अनेकौं तहमा भ्रमणमा गएका छन् । चीनले वाम नेताहरूलाई पालैपालो निमन्त्रणा गर्दै ‘सम्बन्धको गहिराइ’ कायम राख्न खोजेको देखिन्छ ।
प्रमुख भ्रमणहरूः
बैशाख ५, २०८१ : माओवादी महासचिव देव गुरुङ नेतृत्वको टोली सीपीसीको निमन्त्रणामा चीन ।
मंसिर १७–२१, २०८० : प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमण सम्पन्न ।
मंसिर १९, २०८० : माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सांघाईको कार्यक्रमका लागि चीन ।
असोज ७, २०८० : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल बेइजिङमा आयोजित फोरममा सहभागी ।
कात्तिक २७, २०८० : एमाले उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा ।
२०८१ चैत २६ : माओवादी नेता दिनानाथ शर्मा नेतृत्वको २५ सदस्यीय टोली चीन भ्रमणमा ।
२०८० चैत ११ : तत्कालिन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमण । यसअघि गृहमन्त्री हुँदा पनि चिनको भ्रमण ।
२०८१ असार : एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको २९ सदस्यीय टोली चीन भ्रमणमा।
२०८१ जेठ २९ : एमाले नेता अन्जना शाक्य नेतृत्वमा ७ सदस्यीय टोली चीन भ्रमणमा ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी
महिला अधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली