चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०८२, ०७ : २९
चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको बढी जोखिममा रहेको जानकारी दिइन् ।

उनका अनुसार २०७८ साल साउन १ देखि २०८२ साल जेठ ५ गतेसम्ममा चट्याङबाट एक हजार ११८ घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनको भनाइ छ ।

‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्’, प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएको उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपदबाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस