देउवासँग प्रचण्डको फोन र जर्नादनको भेट : संयोग कि रणनीति ?

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, २२ : ०८
देउवासँग प्रचण्डको फोन र जर्नादनको भेट : संयोग कि रणनीति ?

काठमाडौं । सत्तारूढ गठबन्धनका प्रमुख दुई दल एमाले र कांग्रेसबीच ‘बाध्यात्मक सहकार्य’ चलिरहेका बेला शुक्रबार काठमाडौंको राजनीतिमा नयाँ तरंग देखा परेको छ । त्यसको कारण हो – प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्ला पुगेर देउवासँग गरेको टेलिफोन सम्वाद र त्यसलगत्तै माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले बुढानिलकण्ठ पुगेर देउवासँग गरेको भेट ।

टेलिफोन सम्वाद र बुढानिलकण्ठ भेट राजनीतिक परिदृश्यमा सामान्य देखिएपनि यसभित्र अन्तरनिहित भित्री मक्सद भने अर्थपूर्ण रहेको विश्लेषण राजनीतिक बृत्तमा छ । केन्द्रीय बैंकजस्तो स्वायत्त संस्थाको नेतृत्व गर्भनर नियुक्तिमा भद्दा खेलबाड भईरहेका बेला ओलीको लिङगरिङबाट दिक्क मानिरहेको कांग्रेस सभापति देउवालाई माओवादी अध्यक्ष प्रचण्डको टेलिफोन र जर्नादन शर्माको भेटले ओलीसँगको बार्गेनिङ पावर बढाएको विश्लेषण पनि भईरहेको छ । 

तर के प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको फोन र शर्माको वुढानिलकण्ठ भेट देउवालाई ओलीसँगको बार्गेनिङ टुल्स बनिरहेको हो या कतै सत्ताको समीकरण फेरिने संकेत त होइन ? राजनीति अहिले यही विषयमा तातेको छ ।

तर देउवासँग माओवादी अध्यक्षको टेलिफोन वार्ता र जर्नादनको भेट संयोग मात्र भएको कांग्रेसले जनाएको छ । यसभित्र सत्ता समिकरण हेरफेरको विषय केही नभएको कांग्रेसको प्रष्टिकरण छ ।

माओवादीले सुदूरपश्चिमबाट आजै देखि शुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानमा अन्य पदाधिकारी डडेलधुरा, वैतडी र डोटी पुगिरहँदा शर्मा भने काठमाडौंमा नै छन् । त्यसमाथी उनले डडेलधुराबाट प्रचण्डले देउवासँग फोन सम्वाद गरेको केही समयपछि नै बुढानिलकण्ठ पुगेर देउवासँग भेट गरेपछि राजनीति तरंगित भएको हो । 

अझ शर्मा आफैंले देउवासँग भेट गरेको तस्विर सार्वजनिक गरेर समसामायिक विषयमा छलफल भएको उल्लेख गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अनेक प्रश्न उठेका छन् । शर्माले सामाजिक सन्जालमा तस्विर राख्दै समसामायिक छलफल भनेर लेखेपछि कमेन्ट गर्ने अधिकाशंले नयाँ समिकरण निर्माणमा सफलता मिलोस् भनी शुभकामना समेत दिएका छन् । 

तर शर्माले भने देउवासँग ‘समसामयिक राजनीतिक’विषयमा मात्र कुरा भएको बताएका छन् । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो, अन्य केही विषय थिएनन ।’ नयाँ गठबन्धनको देउवासँगको छलफलमा केही चर्चा भएको हो रु भन्ने सफलखबरको प्रश्नमा शर्माले भने । 

त्यस्तो समसामायिक विषय के थियो र भेट कति गम्भीर थियो भन्ने खुलाइएको छैन । तर शर्माले भेट गरेको समय र उनी आफैले सार्वजनिक गरेको विषयले भने देउवा र शर्माबीचको भेट अर्थपूर्ण देखाएको छ ।

‘जनार्दन शर्मा कुनै साधारण भेटकर्तामा पर्छन् भन्ने मान्न सकिन्न । २०८० सालमा प्रचण्डलाई कांग्रेससँग मिलाएर प्रधानमन्त्री बनाउने योजनाका सूत्रधार मध्ये उनी एक थिए । देउवा प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । उनी माओवादीको रणनीतिक घेराका विश्वासिलो पात्र हुन् ।’ राजनीतिक विश्लेषक पुस्कर लोहनी भन्छन्,  ‘माओवादीभित्रको त्यस्तो पात्र अहिले देउवाको घर पुगेर ‘सामान्य समसामायिक विषयमा छलफल’ मात्र गरेर फर्किएको त मान्न सकिँदैन ।’

के कांग्रेस सत्ता फेर्न तयार हुँदैछ ?
सत्तामा हुँदा पनि असन्तुष्ट कांग्रेस ओली नेतृत्वमा सहज मानिरहेको छैन । गभर्नर नियुक्ति होस् वा अन्य संवेदनशील निर्णयहरू-कांग्रेस निर्णय प्रक्रियाबाट टाढिएको अनुभूति गरिरहेको छ । 

ओलीको काम गराईबाट कांग्रेसका बहुसंख्यक पदाधिकारी र नेताहरु आजित छन् । ओलीको अपजसको भारी नबोक्ने कतिपय कांग्रेसका पदाधिकारीहरुले सार्वजनिक अभिब्यक्ति नै दिईसकेका छन् । असन्तुष्ट भएपनि बाध्यात्मक अवस्थामा मात्र कांग्रेसले ओली सरकारलाई टेको लगाईरहेको छ । कांग्रेसका महामन्त्री देखि अन्य पदाधिकारी एमालेसँगको सत्ता सहकार्यमा असन्तुष्ट बनेपनि सभापति देउवाले लिने निर्णय नै कांग्रेसको निर्णय हुँदै आएको छ । देउवाले मात्र सरकारको काँध फेर्ने निर्णय लिएकै दिन एमाले कांग्रेसको गठबन्धन टुट्ने देखिन्छ । 

तर देउवा कतै आफनो प्रधानमन्त्री पदको भाग खुस्किने पो हो की भन्ने भयमा पनि छन् । ओलीले देउवाको त्यस्तो भय हटाउन अवको १३ महिनापछि धुमधामका साथ किस्तीमा हालेर प्रधानमन्त्री पद देउवाका लागि छोडने बताईरहेका छन् । तर ओलीले त्यसबेला अन्य राजनीतिक दलका सांसदहरु टुटाउने, एमालेमा मिसाउने र आफै प्रधानमन्त्री बनिरहने खेलमा लाग्न सक्ने भन्दै कांग्रेसभित्रै चनाखो बन्नुपर्ने मत उठेको छ ।

त्यस्तो बेला माओवादीको सन्देश कांग्रेसका लागि आकर्षक हुन सक्छ । माओवादीले कांग्रेसले चाहे आफुहरु बाहिरै बसेर भएपनि सरकार निर्माणका लागि सहयोग गरिदिन सक्ने संकेत यस अगाडी नै दिईसकेको छ । त्यसअर्थमा प्रचण्डको टेलिफोन वार्ता भन्दा पनि शर्माको बुढानिलकण्ठ भेट अझ अर्थपूर्ण रहेको विश्लेषण राजनीतिज्ञहरुले गरिरहेका छन् । 


विश्लेषकहरु भन्छन्, ‘यदि कांग्रेस सत्ता नेतृत्वको चाबी ओलीबाट फिर्ता लिन चाहन्छ भने माओवादी त्यो चाबीको नयाँ ताला बन्ने खेलमा देखिँदैछ ।’

राजनीतिक दृष्टिले हेर्दा माओवादी अध्यक्ष प्रचण्डसँगको फोनवार्ता र शर्मासँगको भेटको यो गतिविधि आकस्मिक होइन । योजना अनुसारको ‘पावर मूभ’भएको विश्लेषण पनि गरिदैछ । विश्लेषकहरुको बुझाईमा देउवा र प्रचण्डबीचको संवाद र जनार्दन शर्माको भेट एउटै लयमा जाँदैछ - सत्ता समीकरण फेरबदलको ‘साइलेन्ट अघोषणा’।

कांग्रेसले ओली नेतृत्वको निराशाजनक गति देखेर वैकल्पिक समीकरणतिर ध्यान दिइरहेको अनुमान गर्न गाह्रो छैन । राजनीतिक मैदानमा हाल माओवादी केन्द्रले खेल्न थालेको नयाँ चाल सत्ता समीकरण फेरिने संकेतको ‘समीक्षा’ मात्र होइन, सम्भावनाको ‘घन्टी’ पनि हो ।

तर त्यसका लागि कांग्रेसका सभापति देउवा तयार भएको दिन त्यो सम्भाबनाको घण्टी बज्रनेछ । तर शुक्रबारको घटना भने संयोग मात्र भएको बुझाई प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको छ ।