चितवन । जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन ।
नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तर, अहिले राहत र उद्धारमा जानु परेको छैन ।
यसरी यहाँका स्थानीहरू बर्सातको समयमा पनि चैनसँग सुत्न पाएको भने धेरै भएको छैन । ४ वर्षअघि शिलान्यास गरी सुरु भएको आयोजना तटीय क्षेत्रको मुख्य प्रभावित क्षेत्रमा तटबन्ध कार्य सम्पन्न भएपछि अवस्था फेरिएको हो ।
भरतपुरको ९ वटा वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्दछ । नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको कार्य सम्पन्न भइसकेको नारायणी नदी नियन्त्रण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो । अहिले नदीले कटान गरिरहेको स्थानहरूमा मर्मतको काम भने भइरहेको उहाँको भनाइ छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले तटीय क्षेत्रमा बस्ने नागरिकका लागि मेगा प्रोजेक्ट तटबन्धले १ लाख बढी लाभान्वित भएको बताउनुभयो । महानगरमा निर्वाचित भएर आएपछि हजारौं आयोजना निर्माण भएका छन्, तर, एक नम्बर प्रोजेक्ट नारायणी तटबन्ध नै हो–महानगर प्रमुख दाहालले भन्नुभयो । सुरक्षित भरतपुर निमार्णको जग नारायणी तटबन्ध हो, उहाँले भन्नुभयो,’ ‘सबैभन्दा प्रभावकारी आयोजना तटबन्ध भएको छ। नदी उकास भएको छ, पर्यटकीय करिडोर निर्माण भएको छ । १०० वर्षको लागि ढुक्क हुने वातावरण तटबन्धले गरेको छ ।’
भरतपुर महानगरले वर्षा सुरु हुन साथ विपत र उद्धारमा जुट्नुपर्ने अवस्था थियो । तटबन्ध निर्माणले जन धनको सुरक्षाको ग्यारेण्टी गरिदिएको छ । भरतपुर महानगरपालिका प्रमुख दाहालले निर्वाचनको समयमा गरेको बाँचा पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
भरतपुर दुई ठुला नदी र राष्ट्रिय निकुञ्जले घेरिएकोले यहाँका जनताका लागि बरदान र अभिशाप दुवै भएपनि यसको सही सदुपयोग गर्न महानगरले तटबन्ध निर्माण गरेको उहाँको भनाई छ । भरतपुर यही नदी र निकुञ्जका कारण पर्या–पर्यटनको देशकै प्रमुख पर्यटकीय केन्द्र रहेको प्रमुख दाहालले बताउनुभयो ।
नारायणी तटबन्धको ५ वटा प्याकेज रामघाट–काभ्रेघाट ५ किमी, गाँजीपुर–हिरापुर ५ किमी, सिसई–बेलुवा ५ दशमलव ७ किमी, बेलुवा–मेघौली गोलाघाट ३ दशमलव ५, नारायणी पुलदेखि उत्तरतर्फ ७०० मिटर, सेतीदेवि सामुदायिक वनमा ४०० मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ ।
पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धकाे कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेकाे छ । महानगरपालिकाले नारायणी तटबन्धको कार्य सम्पन्न गरेसँगै अब राप्ती नदीको तटबन्धमा कदम चाल्ने बताएको छ ।
–––
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ११ : ४०
लेखकबाट थप