काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको अर्थ नभएको बताए ।
सङ्घीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाई छ । भारत अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता ठूलाठूला शक्तिशाली मुलुकहरू सङ्घीयताकै कारणले अगाडी बढेको उनले बताए । उनले ‘सङ्घीयता नेपालमा छ र ?’ भन्दै प्रश्न समेत गरे । सङ्घीयताले देशभित्रको विविधतालाई सम्बोधन गर्ने उल्लेख गर्दै उनले हाल नेपालमा भएको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न नसकेको बताए ।
उत्पीडनमा परेका समुदायहरूको स्वायत्तता र स्वामित्वलाई सम्बोधन नगर्ने गरी राज्य पुनः संरचनाको निम्ति मात्रै सङ्घीयता लागू गरिएको उनको भनाई छ । उनले साँच्चिकै देशलाई सङ्घीयतामा लैजान आवश्यक भएको बताए । देखाउने मात्रै सङ्घीयता नभई यसलाई कार्यगत सङ्घीयताको रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेको उनको भनाई छ ।
उनले प्रमुख राजनीतिक दलहरूले सङ्घीयतालाई सहज रूपमा नलिएका कारण यसको सही कार्यान्वयनमा समस्या देखिएको बताए । सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस एमाले नै तयार देखिएनन्
अध्यक्ष यादवले वर्तमान सरकार गठनको बेला नेपाली कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा दुवै दल तयार नदेखिएको आरोप लगाए । दुई दलबिचमा भएको समझदारीमा सुशासन, अर्थतन्त्रलाई सुधार र संविधान संशोधन जस्ता महत्त्वपूर्ण पक्ष रहेको उनको भनाई छ । तर त्यसलाई कार्यान्वयन गर्न वर्तमान सरकार र सत्तारुढ दल प्रतिबद्ध नरहेको उनले बताए । देशको अर्थतन्त्र झन् सङ्कटग्रस्त हुँदै गएको उनको भनाई छ । संविधान संशोधनका मुद्दा पनि छायामा परेको उनले बताए । दुई दलबिच भएको समझदारी र प्रतिबद्धता पूरा गर्न सहज बनाउनको लागी आफूहरूले सरकारलाई समर्थन दिएको उनले जानकारी दिए ।
उनले अझै पनि कांग्रेस र एमालेबिच भएको समझदारी कार्यान्वयन गर्न समय रहेको बताए । त्यसलाई कार्यान्वयन गर्न उनले आग्रह गरे ।
सरकारमा बसिरहनुपर्ने कुनै औचित्य नदेखेपछि समर्थन फिर्ता
सरकारमा बसिरहनुपर्ने कुनै औचित्य नभएपछि जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष यादवले बताए । उनले आफूहरूले समर्थन फिर्ता लिँदैमा सरकारलाई कुनै असर नपर्ने पनि बताए । जसपा नेपालको समर्थन फिर्ताले सरकार ढल्ने, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने लगायतका अवस्था नै नभएको उनको भनाई छ । सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारले गर्ने राम्रा, देशहितका काममा भने सहयोग गर्ने उनले बताए ।
आफूहरू सरकारमा बसिरहेको भए जनताले किन सरकारमा बसेको भनेर प्रश्न गर्ने उनको भनाई छ । एक वर्ष पनि बढो गाह्रो गरी सरकारमा बसेको उनले बताए ।
भूमि विधेयक बिचौलिया र जग्गा दलालको पक्षमा
जसपा, नेपालका अध्यक्ष यादवले सरकारले भूमाफियाहरुलाई सहयोग हुनेगरी भूमिसम्बन्धी विधेयक ल्याएको बताए । वन फडानी गरेर बिचौलिया, जग्गा दलाल र माफियाहरूलाई जग्गा दिने गरी सरकारले विधेयक ल्याएको उनको आरोप छ । नेपाल पर्यावरणीय जोखिममा रहेको उल्लेख गर्दै उनले वन जोगाउनुपर्नेमा वन फडानी गर्नेलाई लालपुर्जा दिने गरी ऐन बनाउन खोजिएको बताए ।
वन विनाश भए मुलुक मरुभूमिकरण भएर जाने उनको भनाई छ । सरकारले हालै नेपालमा पर्यावरणीय सङ्कट बढ्यो भनेर सगरमाथा संवाद गरेको उल्लेख गर्दै उनले पर्यावरणीय सङ्कटबाट जोगाउने उपाय वन पनि भएको बताए । वन विनाश गर्ने ऐन देश र जनताको पक्षमा नरहेकोले आफूहरूले यसको विरोध गरेको उनको भनाई छ ।
सरकारले हाल ल्याएको भूमिसम्बन्धी विधेयकले पर्यावरण नष्ट गर्ने, तराई, मधेस, चुरे नष्ट भएर मरुभूमिकरण हुने बताए । देशको र नागरिकको जीवनको लागि सोच्ने मान्छेले आँखा चिम्लेर सरकारको यो काममा सही थाप्न नसक्ने उनको भनाई छ ।
विभाजन र टुटफुटले मधेसवादी पार्टी अहिले दर्जनौँ बनेका छन् । हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टीलाई फेरि ब्युँताएका छन् । तर जसपा, नेपालका अध्यक्ष यादव भने मधेसवादी दल फेरि जुट्ने सम्भावना बढ्दै गएको बताए । नेपालको राजनीतिमा एकता, मिलन, बिछोड यो सँगसँगै गइरहने कुरा भएको उनले बताए । फुट्ने, जुट्ने र फेरि फुट्ने यो क्रम नेपालको राजनीतिक दलहरूको विशेषता नै रहेको उनको भनाई छ । उनले अब फेरि जुट्ने सम्भावना बढ्दै गएको बताए ।
उनले अहिलेसम्म वैचारिक, सैद्धान्तिक भन्दापनि कार्यनीतिक सवाल, तत्कालीन समस्या र घटनाक्रमहरूबाट प्रभावित भएर पार्टी विभाजन हुने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
तराईलाई मरुभूमि बनाएर भूमिफियालाई जग्गा बाँड्ने गरी सरकारले भूमि विधेयक ल्याएको छ: उपेन्द्र यादव
‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई छुट भइरहन्छ : उपेन्द्र यादव