काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् । विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्वद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उदघाटन गर्दै पुनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताए ।
त्यसका लागि राजनीतिक दलहरुले पनि वातावरण बनाइदिनुपर्ने उनको भनाइ थियो । पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरुप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे । जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले काँग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियू हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे । ‘जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैंमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो,’ पुनले भने ।
डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे । ‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ । डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ’, पुनले भने, ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’
कार्यक्रममा अतिथि र क्रान्तिकारीका पदाधिकारी टिमबीच मैत्रीपूर्ण प्रतियोगितासमेत भएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध विभिन्न माग राखेर २०२१ साल जेठ १ गते विद्यार्थीहरुले राजधानीमा विशाल प्रदर्शन गरेका थिए । तत्कालीन पञ्चायती सरकारले आन्दोलन दबाउन ठूलो दमन गर्नुका साथै धेरैलाई पक्राउ गरेर थुन्यो । तर, विद्यार्थी आन्दोलन रोकिएन । थप सशक्त बनेको विद्यार्थी आन्दोलनका अगाडि झुकेर पञ्चायती सरकार क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) खोल्न पाउनेसहित अधिकार दिन बाध्य भयो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता दिवसका रुपमा मनाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन