काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले नीति तथा कार्यक्रममा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले एउटा पक्षले मात्र ल्याउने कार्यक्रमले देशका समग्र समस्या समाधान हुन नसक्ने बताए ।
‘परिणामविहीन विगतकै नीतिको निरन्तरतारले देशलाई परिवर्तन गर्न सक्दैन । ७० वर्षदेखि एक अंकको आर्थिक वृद्धिमा घिस्रिँदै आएको अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्याउन निकै ठूलो सुधारको आवश्यकता देखिन्छ । टालेटुले कुराले अब देश चल्दैन, पार्टीहरू चल्दैनन् । चौतर्फी सुधार आजको आवश्यकता छ,’ उनले भने, ‘त्यसैले नीति कार्यक्रममा एउटा नेताको सोचले मात्र सबैलाई समेट्न सक्ने अवस्था रहेन । सबै पक्षसँगको छलफल र बहसबाट राष्ट्रिय सहमति कायम गरौं र नीति तथा कार्यक्रम बनाऔं ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम झन् पछाडि धकेल्ने गरी आएको बताएका शर्माले आर्थिक विकासमा सत्ता र प्रतिपक्ष नभनीं राष्ट्रिय सहमतिको आधारमा नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने धारणा राखे ।
उनले शिक्षा, स्वास्थ्य, भूमिसुधार, रोजगार सिर्जना जस्ता विषयमा नीति तथा कार्यक्रम चुकेको चर्चा गरे । नीति तथा कार्यक्रममा पुरानै कुराहरूको रटान, असफल र फेल भइसकेका कार्यक्रमहरू दोहोरिएको उनको भनाइ थियो ।
सांसद शर्माले संघीयताको कार्यान्वयनमा सरकारको नीति तथा कार्यक्रम प्रतिबद्ध नदेखिएको पनि बताए । यस्तै, स्थानीय तहलाई सेवा प्रवाहको प्रतिस्पर्धामा ल्याउने सोच पनि सरकारमा नदेखिएको चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा