‘कथाभन्दा कविता लेख्न गाह्रो छ’

सूर्यप्रकाश कँडेल

मंगलबार, २७ कार्तिक २०७५, १४ : ०२

चितवन । चार वर्षअघि २०७१ सालमा कविता संग्रह भीडमा हराएको मान्छे र कथा संग्रह इन्द्रमायाको देशमा सार्वजनिक भयो । यी दुवै कृति शिक्षासेवी एवम् साहित्यकार एलबी क्षेत्रीका हुन् । यसअघि २०६४ सालमा उनको पहिलो कृति त्रिशंकुको देशमा लघुकथा संग्रह बजारमा आइसकेको थियो । कविता र कथा दुवै विधामा कलम चलाउने क्षेत्रीलाई कविताभन्दा कथा लेख्न केही सजिलो लाग्छ । उनी भन्छन्, ‘त्यसो त साहित्यका सबै विधामा कलम चलाउन कठिन हुन्छ नै । मेरो विचारमा कथाभन्दा कविता लेख्न गाह्रो छ ।’

CG Developers Tansen Cement box

सत्र वर्ष भारतीय सेनामा सेवारत रही उच्चशिक्षालाई अगाडि बढाएका क्षेत्रीले अंग्रेजी साहित्यमा एमए गरेका छन् । स्नातकोत्तरको पढाई सिध्याएपछि नेपाल फर्केर क्षेत्रीले बाँकी २३ वर्ष शिक्षण पेशामा बिताए । फौजीबाट मास्टर बनेका एलबी अरुभन्दा फरक शैलीमा पढाउने गरेको कारण चर्चामा रहे । वीरेन्द्र बहुमुखी क्याम्पस र बालकुमारी कलेजमा पढाउने काम सुरु गरेसँगै चितवनको भूमिमा एलबीको साहित्यिक यात्रा पनि अगाडि बढ्यो । निरन्तर तीन दशकदेखि साहित्यमा सक्रिय अहिले शिक्षण पेशाबाट निवृत्त छन् ।

आमा स्व. खिनाकुमारी क्षेत्री र बुबा स्व. देवबहादुर क्षेत्रीका दुई छोरामध्ये जेठा एलबीको जन्म २००७ साल मंसिर २६ गते स्याङ्जा जिल्लामा भएको हो । प्रारम्भिक शिक्षा र उच्चशिक्षा भारतमा पूरा गरेका एलबीले २०२२ सालमा भारतको उत्तर प्रदेशस्थित किङ जर्ज सिल्भर जुब्ली इन्टरकलेज, रसडा, बलियाबाट एसएलसी उत्तीर्ण गरे । एसएलसीपछि आईएस्सी पढ्दै गर्दा नेपाल फर्किएर उनले २०२४ सालदेखि २०२५ सालसम्म पटिहानीको धनौजीमा रहेको विद्यालयमा पढाउन सुरु गरे । उच्चशिक्षा पूरा गर्ने हुटहुटीले उनलाई २०२६ सालमा पुनः भारत पु¥यायो ।

भारतमा पनि शिक्षण पेशासँगै आफ्नो पढाईलाई अगाडि बढाउने उनको चाहना भएपनि उनले शिक्षकको जागिर पाएनन् । पढ्नु त जसरी पनि थियो । त्यसैले उनले भारतीय सेनामा भर्ती खुलेको बेला आवेदन दिएर नाम निकाल्न सफल भए । २०२६ सालमा भारतीय फौजमा सेवा सुरु गरेका एलबीले २०२८ सालमा नेपाल आएर बिहे गरे । मीना लामिछानेसँग लगनगाँठो कसेका एलबीका दुई छोरी र दुई छोरा छन् । सत्र वर्ष भारतीय सेनामा सेवारत रहँदा उनले समाजशास्त्र र अंग्रेजी साहित्यमा स्नातक तहसम्मको पढाई प्राइभेट परीक्षा दिएरै सिध्याए ।

स्नातकोत्तर तहको पढाई सुरु गर्न भारतीय सेनामा राजीनामा दिएर पटना विश्वविद्यालयमा भर्ना भए । २०४४ सालमा अंग्रेजी साहित्यमा एमएको अन्तिम परीक्षा दिएपछि रिजल्ट नहुँदै उनी चितवन आएर भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस र बालकुमारी कलेजमा पढाउन सुरु गरे । २०६१ सालमा वीरेन्द्र क्याम्पसको क्याम्पस प्रमुख बनेपछि उनले बालकुमारी कलेजमा राजीनामा दिए । २०६५ सालसम्म क्याम्पस प्रमुखको रुपमा वीरेन्द्र क्याम्पसको उन्नयनमा लागेका एलबीले २०६९ साल साउनमा वीरेन्द्र क्याम्पसमा पनि राजीनामा दिए ।

विद्यालय पढ्दै गर्दादेखि अंग्रेजी साहित्यप्रति आकर्षित एलबीले हिन्दी र नेपाली साहित्यका पुस्तक विशेषगरी कथा, कविता र उपन्यास पढ्न थाले । रत्ननगरका रामबाबु घिमिरे सम्पादक रहेको सम्प्रेषण पत्रिकामा पहिलोपटक बाजे फर्केनन् शीर्षकको कथा प्रकाशित भएपछि नेपाली साहित्यप्रति उनको रुझान बढ्दै गयो । २०४५ सालमा चितवन साहित्य परिषदको आजीवन सदस्य बनेका एलबीले त्यही बेलादेखि साहित्यिक कार्यक्रममा सहभागी हुने, कविता, लघुकथा, कथा सुनाउने गर्न थाले । २०६२ सालमा त्रिशंकुको देशमा शीर्षकको उनको लघुकथा मधुपर्क पत्रिकामा छापिएपछि उनी साहित्य क्षेत्रमा हौसिएरै लागे ।

२०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजका संस्थापक एवं वर्तमान अध्यक्ष एलबी चरैवेति त्रैमासिक पत्रिकाको सम्पादक र प्रकाशक पनि हुन् । कैलाशनगर माध्यमिक विद्यालयमा सल्लाहकार रहेका एलबी नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य समेत छन् । २०६५ सालमा स्थापना भएको मीना लामिछाने ट्रष्टको संरक्षक रहेका एलबीले ट्रष्टबाट बर्सेनि दुई वटा पुरस्कार दिँदै आएका छन् । चितवनका वरिष्ठ साहित्यकारलाई दिइने कविडाँडा साहित्य सम्मान तथा देवखिना स्मृति पुरस्कार आठ जनाले प्राप्त गरिसकेका छन् । यसैगरी चितवनका लेखकको कृतिलाई दिइने कविडाँडा साहित्य पुरस्कार पाँच वटा कृतिले प्राप्त गरिसकेका छन् ।
प्रस्तुत छ, फौजबाट शिक्षण पेशाहुँदै यतिबेला साहित्य क्षेत्रमा कृयाशील साहित्यकार एलबी क्षेत्रीसँग सैनिक जीवन, शिक्षण पेशा र साहित्यबारे गरिएको भिडियो कुराकानी :

 

प्रतिक्रिया दिनुहोस