चितवनमा पोल्ट्री सम्मेलन : पोल्ट्री क्षेत्रको विकासमा कोशेढुंगा

आइतबार, ११ कार्तिक २०७५, १४ : १५
चितवनमा पोल्ट्री सम्मेलन : पोल्ट्री क्षेत्रको विकासमा कोशेढुंगा

भरतपुर । चितवनको भरतपुरमा आजबाट नेपालकै पहिलो पोल्ट्री सम्मेलन सुरु भएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पोल्ट्री सम्मेलनको उद्घाटन गर्नुभएको छ । 
कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुर चितवनको आयोजनामा हुन लागेको अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, इजिप्ट, भुटान र युएसलगायत ९ वटा देशका वैज्ञानिकहरुले कुखुरापालनमा प्रविधियुक्त आधुनिक खोजमुलक कार्यपत्र प्रस्तुत गर्नेछन् । पोल्ट्री सम्मेलनमा वैज्ञानिकहरुको खोज कार्यपत्रले नेपालको पोल्टी क्षेत्रमा गुणस्तर बढ्ने अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन मूल आयोजक समितिका अध्यक्ष प्राडा शारदा थपलियाले जानकारी दिनुभयो । उहाँले सम्मेलन पोल्ट्री क्षेत्रको विकासमा कोशेढुंगा बन्ने बताउनुभयो । 
तीन दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सेसन हुनेछ । सम्मेलनमा ११५ वटा पेपर प्रस्तुत हुने प्राडा थपलियाले जानकारी दिनुभयो । उहाँले उत्कृष्ट पोष्टरमध्ये पहिलो हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार, सान्त्वना हुनेलाई ५ हजारका दरले पुरस्कृत गरिने समेत बताउनुभयो । 
सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विद्याहरुमा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । 

सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एशोसिएसन उपाध्यक्ष प्राडा देवेन सापकोटा, जापानिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष उपाध्यक्ष डा नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गुम्स, भारतीय कृषि अनुसन्धान परिषद् तथा केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक सुनिलचन्द गिरीलगायत विदेशी वैज्ञानिकहरु उपस्थित भएका छन् । 
‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग’ परिपूर्ति भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको विश्वविद्यालयका उपकुलपति प्राडा. ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यावसायिक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागिता रहेको छ । सम्मेलनबाट आएको नतिजाले राष्ट्रको नीति निर्माणमा प्रभाव पार्ने प्राडा ढकालको भनाइ थियो । 
सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले चितवन पोल्ट्रीको राजधानी भएको बताउँदै यस क्षेत्रको विकासमा नेपाल तीव्र रुपले अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको मुख्य उद्योगभित्र पोल्ट्री परेको हुनाले यसको विकासमा स्थानीय, प्रदेश तथा केन्द्र सरकार लागेको बताउनुभयो ।  
नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । आत्मनिर्भरउन्मुख पोल्ट्री क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा छन् । देशको कूल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । 

प्रतिक्रिया दिनुहोस