धरान । कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टाइम कार्ड सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछियामा आयेजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले सो रुट हुँदै चल्ने सवारी साधनलाई टाइम कार्ड हस्तान्तरण गरेर यसको अौपचारिक सुरुवात गरे । विराटनगरबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक अशोक टुडुलाई उक्त कार्ड हस्तान्तरण गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा टाइम कार्ड सुरु गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
प्रदेशका १५ स्थानमा टाइम कार्ड रुजु गर्ने व्यवस्था गरिएको छ । एक ठाउँमा टाइम कार्ड लिएपछि अर्को स्थानसम्म पुग्न कम्तीमा पनि तोकिएको टाइम पूरा हुनुपर्छ । यसबाट गाडीमा ओभरस्पिडबाट सवारी दुर्घटना हुने सम्भावना न्युनीकरण हुने डीआईजी खापुङले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टाइमकार्ड सुरु भएपछि सवारी साधनले गर्ने उछिन पछिनको अन्त्य हुने बताए । नेपालमा प्रत्येक दिन सडक दुर्घटनामा परेर अौसत ८ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । गत वर्ष मात्रै २ हजार ८ सय ८० ले सडक दुर्घटनाबाट ज्यान गुमाएका थिए ।
टाइम कार्ड सुरु भएपछि धरानको तिनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान र भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले टायमकार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने
कोशी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाइने
कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल छ : प्रधानमन्त्री ओली
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा