अन्तर्वार्ता

गठबन्धन नै चुनाव जित्ने प्रमुख आधार हो, हार्छु भन्ने सोचेकै छैन

मंगलबार, २१ कार्तिक २०७४, ०९ : ४५
गठबन्धन नै चुनाव जित्ने प्रमुख आधार हो, हार्छु भन्ने सोचेकै छैन

मंसिर २१ गते हुन लागेको चुनावमा माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएकी छन् । यो क्षेत्रमा कांग्रेसका मदन अमात्य उमेदवार छन् । अमात्य सोही क्षेत्रका पूर्वसांसद तथा जिल्ला सभापति पनि हुन् । कांग्रेसलार्इ राप्रपाले समर्थन गरेको छ । क्षेत्र नं. ३ अन्तर्गत गोदावरी नगरपालिकाका वडा नं १२, १४ र ललितपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ पर्दछन् । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचन नतिजाअनुसार बाम गठबन्धनमा रहेका एमाले-माओवादीको मत ३० हजार ६०० रहेको छ भने कांग्रेस र राप्रपाको पक्षमा २१ हजार ८७२ मत रहेको छ ।

 

चुनावी तयारी कस्तो गर्दै हुनुहुन्छ ?

ललितपुर क्षेत्र नम्बर ३ बाट आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि मैले पनि उमेदवारी दिएको छु । त्यही हो, चुनाव प्रचार-प्रसार कार्यक्रममा नै व्यस्त छु र मैले चुनाव जितेँ भने पाँच वर्षमा के गर्छु भनेर प्रतिबद्धतापत्र तयार पार्नमा व्यस्त छु ।

 

ललितपुर-३ नै किन रोज्नुभयो ?

म २०३६ सालदेखि ललितपुरमा छु । पछि २०४२ सालमा ललितपुरमा जग्गा खरिद गरेर घर बनायौं । १० वर्षको जनयुद्धबाहेक अरु समय मैले ललितपुरमा नै बिताएको छु । त्यसैले मेरो आर्थिक, सामाजिक, राजनीतिकलगायत सम्पूर्ण जीवन नै ललितपुरसँग जोडिएको छ र मैले यसै क्षेत्रबाट उमेदवारी दिएँ ।

 

कांग्रेस र विवेकशीलका उमेदवारहरुसँग चुनावी मैदानमा लड्दै हुनुहुन्छ । जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

विवेकशील साझाले विकासको एउटा इँटा पनि  राखेको छैन । उहाँहरुले अहिलेको आइटीको दुनियाँमा सोसियल नेटवर्क प्रयोग गरेर केही क्याम्पियन त चलाउनुभएको होला, तर जनताको दैनिक जीवन र राष्ट्रको परिवर्तनको आन्दोलनमा साझा विवेकशीलको केही योगदान छैन ।

कांग्रेसका कार्यकर्ता झनै केन्द्रीय नेताहरुप्रति सन्तुष्ट छैनन् । २०६४ सालमा म एक्लै लडेर चुनाव जितें,  अहिले त झन् एमाले र माओवादीबीचको वाम तालमेल छ । दुईवटा पार्टीको आफ्नो भोट बैंक,  संगठित कार्यकर्ता र म आफूले निर्वाह गरेको भूमिकाका कारण चुनाव जित्नेमा विश्वस्त छु । ललितपुर सच्चा वामपन्थीको आधार हो । कम्युनिष्ट पार्टीको स्थापना गर्ने संस्थापक नरबहादुर कर्माचार्यलगायतनेताहरु यहीं छन् । त्यसैले यो क्षेत्रबाट चुनाव जित्न मलाई सहज छ ।

 

तपाईंले ललितपुरको विकासका लागि के-के गर्नुभयो । यो क्षेत्रका लागि आगामी योजनाहरु के-के छन् ? 

ललितपुर भनेको नेपालको कला सम्पदाले भरिपूर्ण एक नम्बरको सहर हो । त्यहाँ हस्तकला,  मूर्तीकला,  कष्ठकलालाई उद्योगको रुपमा विकास गर्नेछु । त्यहाँ पर्यटकीय चक्रपथ नै निर्माण गर्न सकिन्छ । 

२०७२ सालको भूकम्पका कारण यहाँका अधिकांश सांस्कृतिक, एतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुमा क्षति पुगेको छ । त्यसको पुनर्निर्माणसहित त्यहाँ पर्यटकीय क्षेत्र विकास गर्ने, उद्योगको विकास, रोजगारीको विकास र आर्थिक समृद्धि मेरा योजनाहरु हुन् । यसअघि नै मैले यहाँको बाटोघाटो, खानेपानीलगायत निजी स्कुलको जस्तै गुणस्तरको शिक्षा दिने ६० वर्षसम्म टिक्ने सरकारी स्कुल बनाएकी छु । 


पार्टी विभाजनसँगै मोहन वैद्य नेतृत्वको माओवादीमा जानुभयो । फेरि पुरानै घर फर्कनुभयो, यस्तो छटपटी किन ?

जनयुद्धले प्राप्त गरेका एजेन्डाहरु सबै कमजोर हुँदै गएको बुझेपछि सबै एकठाउँ हुनुपर्छ, एक्लाएक्लै केही गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि फेरि केन्द्रमा नै फर्किएँ ।

 

कुनैदिन विप्लव र मोहन वैद्यले पनि यही निष्कर्ष निकाल्नुहोला त ? 

देश र जनताको लागि राजनीति गर्ने हो भने उहाँहरु पनि हामीसँगै सहकार्य गर्न आउनैपर्छ । जनताबाट अलग रहेर राजनीति गर्न सकिँदैन । मलाई लाग्छ, उहाँहरु पनि ढिलो चाँडो केन्द्र नै फर्कनुहुन्छ ।

 

तपाईंको पार्टीले महिला हक र समानताको कुरा खुबै गर्छ तर चुनावी उमेदवारमा पुरुष अनुहार नै बढी देखिए त ?

हो, अझै पनि महिला र पुरुष बराबरीको संख्यामा राष्ट्रिय राजनीतिमा आउन सक्नुभएको छैन । चुनावको बेलामा चाहिँ प्रत्यक्षतर्फ जित्ने ठाउँमा पुरुष नेताहरुले ओगटि हाल्नुहुन्छ र महिलालाई समानुपातिक छ भनेर पन्छाउनुहुन्छ । आफैं महिलाहरु पनि चुनाव खर्चिलो भएकाले प्रत्यक्षतर्फ चुनाव लड्न डराउनुहुन्छ र समानुपातिकमा नाम हाल्दिनुहोस् भन्नुहुन्छ । अहिले एमाले र हाम्रोबीच वाम गठबन्धन बनेपछि झन् महिलाको सिट संख्या घटेको छ । त्यसैले पुरुष अनुहार बढी देखिएको हुनसक्छ । महिलाका हक र अधिकारका मुद्दामा पार्टी कटिबद्ध छ । 

 

चुनाव हो, हार्नुभयो भने के हुन्छ ?

मैले हार्छु भन्ने सोचेकै छैन ।  बढी मत कसरी ल्याउने भन्नेमा चाहिँ सोचिरहेको छु । म एउटा राजनीतिकर्मी हुँ । मैले चुनाव जिते वा हारे पनि बाँकी जीवन देश र जनताको निम्ति नै बिताउने हो । अर्को कुनै विकल्प छैन ।

चुनावको मुखमा एमाले र माओवादीबीच किन गठबन्धन बन्यो ? यो गठबन्धन पार्टी एकतासम्म पुग्ला ?

हामीले राजनीतिक परिवर्तन गर्‍यौं, आर्थिक समृद्धि र विकास अबको आवश्यकता हो । हाम्रो संविधानले नै उल्लेख गरेको समाजवाद उन्मुख समाज निर्माण गर्ने देशमा राजनीतिक स्थिरता चाहिन्छ ।  हामीले राजनीतिक स्थिरताका निम्ति जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा उठाएका छौं । पहिलेदेखि नै विचार र राजनीतिले एमाले र हामीबीच नजिक थियौं । 

हामी जनयुद्धको प्रक्रियाबाट आयौं माओवाद मान्ने, उहाँहरु चाहिँ माओवाद नमान्ने शान्तिपूर्ण संघर्षबाट अघि बढ्नपर्छ भन्ने थियो । हामीले जनवादी क्रान्तिबाट समाजवादमा जाने र उहाँहरुले बहुदीय जनवादबाट समाजवादमा जाने लक्ष्य राख्नुभयो । नेपाली राजनीतिमा भएका उपलब्धिहरुलाई संस्थागत गर्दै समाजवादमा जाने भनेर हामीले कार्यदिशा निर्दिष्ट गरेका छौं । अबको समाजवाद हिजोको चीन र रुसको जस्तो होइन ।  

हाम्रै नेपालमा मौलिक ढंगको २१ ‌औं शताब्दीको समाजवादको मोडेल बनाउनुपर्छ भन्ने हामीले सहमति गरेका छौं । त्यसैले हामीले पार्टी एकतासम्मको लक्ष्य राखेका छौं । यो गठबन्धन चुनावसम्मको लागि होइन, पार्टी एकतासम्म हो । हामी एकअर्कोमा विलय हुने होइन,  दुवैवटा पार्टी मिलेर एउटा नयाँ कम्युनिष्ट पार्टी बन्ने हो । 

गठबन्धनमा बाँधिएपछि एमाले र माओवादीका कार्यकर्ताले तपाईंहरुलाई नै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?
निश्चय पनि हाल्नुहुन्छ, यो गठबन्धन बनेपछि एमाले र माओवादीका नेतालगायत सबै कार्यकर्ता खुसी हुनुहुन्छ । उहाँहरुले पनि जित्नुपर्छ/जिताउनुपर्छ भन्नुभएको छ । 


देशैभर वामगठबन्धनका उमेदवारले जित्लान् ?
६५ प्रतिशत जनताले वामपन्थीहरुलाई मन पराउनुहुन्छ र मतदान गर्नुहुन्छ । हामी अलग पार्टीमा हुँदा कहिले एमालेमा मतदान गरेको छ कहिले माओवादीमा, तीनै मतदाता हुन् यता र उता जाने । त्यसैले अहिले वाम गठबन्धन बनेपछि मतदाताले एउटै उमेदवार र निर्वाचन चिन्ह पाउँदैछन् । त्यो नै गठबन्धनको चुनाव जित्ने प्रमुख आधार हो । कम्युनिष्ट भनेको राजनीतिक परिवर्तनको नेतृत्व गरेको शक्ति हो, राजनीतिक परिवर्तन जुन ढंगले भयो, अब आर्थिक समृद्धि पनि हुन्छ र त्यसको नेतृत्व वामपन्थी शक्तिले गर्छ । बाह्रखरी बाट

प्रतिक्रिया दिनुहोस