काठमाडौं। वासिङ्टन डीसी– संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) र श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजाय दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
‘हामी चीनलाई हुवाङ र वाङका साथै आफ्नो मौलिक स्वतन्त्रताको प्रयोग गरेको आरोपमा अन्यायपूर्ण रूपमा हिरासतमा राखिएका अन्य व्यक्तिलाई तुरुन्तै रिहा गर्न आग्रह गर्दछौँ,’ उनले भनेका छन् ।
चिनियाँ प्रशासनले लामो समयसम्मको अनुसन्धान र परक्षिणपछि हुवाङलाई पाँच वर्ष तथा वाङलाई तीन वर्ष र ६ महिनाको जेल सजाय सुनाएको हो ।यसबाहेक, अमेरिकी विदेश विभागले चीनलाई अभिव्यक्ति र निष्पक्ष परीक्षणजस्ता स्वतन्त्रतासहित मानव अधिकारको सम्मान गर्ने आफ्नो वाचा कायम राख्न आग्रह गरेको छ ।
‘हामी जनगणतन्त्र चीनलाई आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष परीक्षणको सुनिश्चिततासहित मानव अधिकारको सम्मान गर्न आह्वान गर्दछौं । साथै मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षाको क्रममा यस वर्ष गरिएका धेरै सिफारिसहरू स्वीकार गर्न पनि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
हुवाङले चीनको मिटु आन्दोलनको समयमा यौन उत्पीडनको रिपोर्ट गर्न पीडितहरूका लागि एक सामाजिक सञ्चार प्लेटफर्म सिर्जना गरेकी थिइन् । उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडन चिन्ताको विषय भएको सर्वेक्षणहरू साझा गरेको ‘द भ्वाइस अफ अमेरिका’ले जनाएको छ । सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
भ्वाइस अफ अमेरिकाका अनुसार वाङले सन् २०१४ देखि श्रमिकहरूको अधिकार र अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्दै आएका छन् ।अनलाइन समर्थन समूह फ्री हुआङ जुएकिन र वाङ जियानबिङका अनुसार हुवाङले सजायविरुद्ध पुनरावेदन गर्ने योजना बनाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’