इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने आजपाको निर्णय

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, ११ : २७
इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने आजपाको निर्णय

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने भएको छ। थेगिमले निर्वाचनमा सहयोग गर्नको लागि गरेको पत्राचारपछि आफूहरुले साथ, सहयोग र समर्थन गर्ने निर्णय गरेको आजपाका प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिए ।

साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘आसन्न उपनिर्वाचनमा इलाम–२ बाट मुढा चुनाव चिन्ह लिई पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बुले यही मिति २०८१ बैंशाख ८ गतेको पत्रमार्फत हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीबाट चुनावमा सहयोग र समर्थन माग गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ ।’

आजपाले अहिलेको उपनिर्वाचनको परीणामले संसदीय अंगगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरुको बहस र संघर्षमा विशेष प्रभाव राख्ने विश्वास व्यक्त गरेको छ । साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘अहिले ईलाम–२मा संघीयता नचिन्ने र संघीयता चिनेकोजस्तो ढोंग÷नाटक गरेपछि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाईं छ । अहिलेको लुटकारी दलतन्त्र र दलभित्र केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोकेबाज नेताहरुको अपराधले गर्दा नै देश अहिले संकटग्रसत अवस्थाबाट गुज्रिरहेको छ । यस सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालिन निकासका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्वपूर्ण भूमिका एवम् योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको चयन जरुरी छ ।’

आजपाले डकेन्द्रसिंहलाई आम जनताका साझा मनमुटुका लोकप्रिय उम्मेद्वारको संज्ञा दिएको छ ।