नेप्से सूचकमा सामान्य गिरावट, २ अर्ब २९ करोड बराबरको कारोबार

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : २३
नेप्से सूचकमा सामान्य गिरावट, २ अर्ब २९ करोड बराबरको कारोबार

काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घट्न पुगेको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो ।

तर, आज क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.५३ अंकले बढ्दै ३५६.२० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

करिब २ अंकले नेप्से घटेको यस दिन २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको ६१ लाख ३१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन ६ अंकले नेप्से घटेको बजारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर कारोबार भएको थियो ।

आज फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचका धनात्मक भएका छन् भने बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।आज पनि गुँरास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताले ७.५० प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस