कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छैन : प्रदीप पौडेल

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, १४ : १६
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूहरुले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार दाङ पुगेका नेता पौडेलले आफूहरुलाई सत्तामा जाने कुनै हतारो नभएको दाबी गरे ।

उनले भने, ‘अहिले हामीलाई सत्तामा जाने कुनै हतारो छैन । सत्तामा जान अप्राकृतिक प्रपञ्च गर्न जरुरी छैन । हामीले कसैलाई अस्वाभाविक रुपले कुर्सी दिएर सत्तामा जाने कोसिस गरिरहेका छैनौं । हामीलाई परिस्थितिले नै सत्तामा लान्छ । यो गठबन्धन आफैं ढल्छ, अर्को बन्ने गठबन्धनबाट कांग्रेस सत्तामा जान्छ । जनता र परिस्थितिको चाहनाअनुसार हुन्छ । त्यसैले हामीलाई अहिले हतारो छैन ।’

सांसद पौडेलले कांग्रेसको सीटभन्दा आधा कम भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु नै अचम्मको विषय भएको बताए । उनले भने, ‘माओवादीका अध्यक्ष तेस्रो दलको नेता हो संसदमा । हामीले उहाँलाई प्रधानमन्त्रीमा समर्थन गरिराख्दा पनि उहाँले कांग्रेसको समर्थनलाई लत्याएर नयाँ गठबन्धन गर्नुभयो । हामी प्रष्ट ढंगले भन्छौं, बेइमानी माओवादी र प्रचण्डको हो । हाम्रो रोदन होइन वास्तविकता हो । कांग्रेसको सीटभन्दा आधा कम भएको पार्टी हो माओवादी । त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो ।’

उनले प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय उठाएको जिकिर गरे । नेता पौडेलले भने, ‘अहिलेको अवस्थाले निष्पक्ष छानबिनलाई प्रभावित पार्छ भन्ने हाम्रो बुझाइ हो । फेरि प्रधानमन्त्रीले गठबन्धन तोड्दैगर्दा कसैमाथि प्रश्न उठेको छ भने त्यसलाई मन्त्रीमण्डलमा ल्याउँदैनौं भन्नुभएको थियो । हामीले अहिले उहाँको राजीनामा भनेको होइन । राजीनामा दिने र नदिने उहाँको नैतिकताको विषय हो । हामीले छानबिन हुनुपर्छ, छानबिन प्रभावित हुनु हुँदैन भनेका हौं । संसदीय छानबिन गर्नु उहाँको लागि पनि राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

उनले संसदबाट सबै कुरा टुंग्याउनुपर्छ भन्ने सिद्धान्त बोकेका पार्टी भएकाले अवरोध गर्ने पक्षमा कांग्रेस नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस