नेप्सेमा लगातार गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, १५ : ३९
नेप्सेमा लगातार गिरावट, ३ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । गत साताको बुधबार र बिहीबार घटेको सेयर बजार आज पनि घटेर बन्द भएको हो । यससँगै, तीन कारोबार दिनमा नेप्से परिसूचक ३५.९८ अंकले घटेको छ ।

आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ ।

आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ । आज सप्तकोसी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.८३ प्रतिशतको गिरावट आएको छ ।

कारोबारमा आएको १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । आज होटल एण्ड टुरिजम समूहको सूचक ८२ अंकले घट्दा जलविद्युत समूहको सूचक २९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचक २४ अंकले घटेको छ ।

यसक्रममा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । आज यो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनरल्सको सेयर २३ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस