यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १३ : ०४
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको वाह्य शक्तिको दौडधुपविना नै यो समीकरण बनेको जिकिर गरे । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको स्वीकारेका छन् ।

वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भने, ‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरू भित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन । र, यसले कुनैपनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो । अब विगतमा भन्दा तपाईँहरूले देख्नुहुन्छ- यो सहकार्यका निम्ति कुनै वाह्य शक्तिहरूको दौडधुप भएको देखिएन ।’

उनले थपे, ‘एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भीर छ ।’

प्रतिक्रिया दिनुहोस