सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १९ : २३
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली

काठमाडौँ ।​ नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास अनुचित भएको बताएका छन्।​ उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास असफल भएको तर्क गरे। सरकारबाट हट्न नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्रीको प्रस्ताव काँग्रेसले गरेको उल्लेख गर्दै त्यो सत्ताबाट हट्नुपर्दाको छटपटाहट भएको उनले बताए।

बुधवार अपराह्न पार्टी मुख्यालय च्यासलमा उनले काँग्रेस जिम्मेवार पार्टी हुनुभन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोप लगाए। काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका वेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिए।

उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकट पार लगाउन आफ्नो पार्टीले नयाँ गठबन्धन पूरै कार्यकाल टिकाउने स्पष्ट पारे। राजनीतिक दलहरूले नयाँ सत्तारुढ गठबन्धन  टिकाउनैपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो।

ज्ञवालीले भने, ‘हामी राजनीति र देशलाई परीक्षणको थलो बनाउन चाहँदैनौँ। सरकारमा को रहन्छ भन्ने ठूलो कुरा होइन। अब नेपाली काँग्रेसमा एउटा छटपटी देखिन्छ। अस्ति सरकारबाट हट्ने र आज चाहिँ जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै जाने काँग्रेसको जिम्मेवार तरिका भएन। पात्रहरूको गलत क्रियाकलापका कारणले प्रणाली अहिले संकटमा छ।’​

उपमहासचिव ज्ञवालीले गत १४ महिना काँग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस