पूर्वप्रधानमन्त्री नेता चन्दलाई भेटेपछि दुर्गा प्रसाईंले लेखे– आन्दोलनको तयारीबारे अर्थपूर्ण भेट

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १३ : २६
पूर्वप्रधानमन्त्री नेता चन्दलाई भेटेपछि दुर्गा प्रसाईंले लेखे– आन्दोलनको तयारीबारे अर्थपूर्ण भेट

काठमाडौं। पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र पक्षधर अभियन्ताको रुपमा चिनिएका व्यवसायी दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई भेटेका छन् ।प्रसाईंले आइतवार उनकै निवास भक्तपुरको लोकन्थलीमा गएर चन्दलाई भेटेका हुन् ।

आन्दोलनको तयारीस्वरुप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चन्दलाई ‘दाजु’ सम्बोधन गर्दै प्रसाईंले उनीसँग अर्थपूर्ण भेट भएकाे बताएका छन् ।‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्र्ण भेटघाट तथा छलफल !’, उनले फेसबूकमा लेखेका छन् ।

प्रसाईं तिनै पात्र हुन् जसले गत मंसिर ७ गते राजा फर्काउने आन्दोलन छेडेका थिए । जनजीविकाका सवाल पनि उठाएर गरिएको उक्त आन्दोलन शुरूमा रापतापको भए पनि लामो समय टिक्न सकेको थिएन । लगभग एक हप्तामै सेलाएको थियो ।

अहिले फेरि उनै प्रसाईंले अर्को आन्दोलनको तयारी गरेको बताइरहेका बेला आइतवार पूर्वपञ्चसमेत रहेका चन्दलाई भेटेका हुन् ।चन्दकै दल राप्रपाले पनि फागुन १ गते देखि आन्दोलन गर्ने भनिरहेको छ । राप्रपा र प्रसाईंका एजेन्डा मिल्छन् । यद्यपि, उनीहरूबीच सहकार्य गर्ने सम्भावना न्यून रहेको स्वयम् प्रसाईं नै बताउँदै आएका छन् ।

प्रसाईं राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र फर्काउन नसक्ने दाबी गर्छन् । राप्रपालाई विश्वास नगरिरहँदा प्रसाईंले पछिल्लो समय राजनीतिमा गुमनामजस्तै रहेका सोही पार्टीका नेता चन्दलाई भने भेटेका छन् । त्यसलाई ‘अर्थपूर्ण भेट’ पनि भनेका छन् ।

चन्द तिनै पात्र हुन् जसलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ को असोजपछिको प्रधानमन्त्री बनाएका थिए। जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘असक्षम’ भन्दै उनले चन्दलाई राजेका थिए । अहिले राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईंले तिनै चन्दलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।आन्दोलनको तयारीका लागि भन्दै प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रदेखि बलिउड अभिनेत्री मनीषा कोइरालासम्मलाई भेटिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस