दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस

सफल खबर संवाददाता

बुधबार, १३ जेठ २०८३, १९ : २२
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिसम्बन्धी विषयमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिसँग सम्बन्धित घटनामा प्रसाईंको संलग्नता रहे-नरहेको विषयमा विस्तृत अनुसन्धान गर्न सम्बन्धित निकायलाई सुझाव दिएको हो।

आयोगका अनुसार, सामाजिक सञ्जालमार्फत दिइएका भनिएका अभिव्यक्तिहरूका कारण प्रदर्शनकारीहरूमा उत्तेजना वा आक्रोश सिर्जना भई सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर परेको हो कि होइन भन्ने पक्षमा समेत सूक्ष्म अध्ययन आवश्यक देखिएको छ।

सिफारिसमा उक्त अभिव्यक्तिले दुरुत्साहनको अवस्था सिर्जना गरेको हो वा होइन भन्ने विषयमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उल्लेख छ। साथै, अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्नुपर्ने र दोष प्रमाणित भए कानुनी कारबाही अघि बढाउनुपर्ने आयोगले औँल्याएको छ ।