नक्कली नोटका २५ बिटासहित सर्लाहीबाट दुई युवक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १० : २२
नक्कली नोटका २५ बिटासहित सर्लाहीबाट दुई युवक पक्राउ

सर्लाही  ।  प्रहरीले सर्लाहीको हरिवनबाट नक्कली नोटका २५ बिटासहित दुई युवालाई पक्राउ गरेको छ। २५ बिटाबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नाेट साइजमा काटिएका खाली कागजका बन्डल बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका- ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका- २ का ३६ वर्षीय सन्जय सहनी रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

प्रदेश-२-०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका हुन्।

‘उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज पनि बरामद भएको छ,’ इप्रका हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले भने, ‘उनीहरुको साथबाट केही मात्रामा गाँजा पनि बरामद गरेका छौँ।’

उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया दिनुहोस