१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १६ असार २०८३, ११ : २३
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ

तौलिहवा । लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार रहेका एक प्रतिवादी कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका– ४ देउपुरा बस्ने ३३ वर्षीय बब्लु भन्ने बुधई यादव रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय गणेशपुर, कपिलवस्तुबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा खटिएको विशेष टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । लागुऔषध मुद्दामा १५ वर्ष कैद र ८० हजार जरिवाना यादवलाई दाङ जिल्ला अदालतले २०८० असार २७ गते लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना र कपिलवस्तु जिल्ला अदालतले २०८१ असार १४ गते सोही प्रकृतिको अर्को मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ । दुवै अदालतको फैसलामा १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान गर्नु पर्ने थियो ।

कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव जेन जेड आन्दोलनका भदौ २४ गते दाङको तुल्सिपुर कारागार तोडफोड गरी फरार भएका थिए ।

प्रहरीका अनुसार फरार भएदेखि नै प्रहरीले उनको निरन्तर खोजी गरिरहेको थियो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले उनलाई असार १४ गते विजयनगर गाउँपालिका–४ जोलाही चोकमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।

हाल यादवलाई नियन्त्रणमा लिएर कपिलवस्तु जिल्ला अदालतमा पेस गरी बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।