छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १० : १७
छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : प्रमुख दाहाल

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौंबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् ।

काठमाडौंबाट फोनमा हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उनले आफ्ना पिता दाहाललाई नै दिएका थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेका थिइन् ।

निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग महानगर प्रमुख दाहालले भने, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात सम्झिएँ र निकै खुसी भएँ ।’ निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उनले बताइन् ।

उनले भनिन्, ‘नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ ।’

हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको महानगर प्रमुख दाहालले सुनाइन् । उनले आफ्नो मोबाइलमा तस्बिर देखाउँदै भनिन्, ‘जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।’

विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौँको हवाई टिकट रु चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा रु तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस