प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १८ : २५
प्रदीपको ६ विकेटमा मधेशको रोमाञ्चक जित

काठमाडौं । स्पिनर प्रदीप पासवानको ६ विकेटको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित हात पारेको छ ।

जितको लागि १७० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४०.५ ओभरमा १६० रनमा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले ७९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रन बनाए । अभिषेक गौतम २६, मिर्नल गुरुङ २१ र दिलसाद अली २२ रनमा आउट भए ।

मधेशका स्पिनर प्रदीप पासवानले ९ ओभरमा ३० रन खर्चेर ६ विकेट लिए । अभिषेक तिवारीले २, रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश १६९ रनमा अल भएको थियो ।

मधेशका अरनिको यादवले ५० बलमा ३ छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हरिशंकर शाह १, अनिल शाह १६, मयन यादव २२, पवन सरार्फ २६ र अभिषेक तिवारी २६ रनमा आउट भए ।

लुम्बिनीका वीर मगरले ८.३ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । अभिषेक गौतमले ९ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की, मोहम्मद हुसेन र निर्मल गुरुङले १–१ विकेट लिएका थिए ।

मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ । अन्य टोलीको नतिजापछि मधेश शीर्ष चारमा रहने वा नरहने निर्धारण हुनेछ । पुलिस ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ ।

बागमती प्रदेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ७ खेलमा १ मा जित र ६ मा हारसहित २ अंकका साथ पुछारमा छ । आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । १० टोली सहभागी प्रतिगोगिता राउन्ड रोविनको आधारमा भएको छ ।

शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । शीर्ष चार टोली इलिट ट्रफी खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस