सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ : वर्षमान पुन

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : ०८
सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच भएको अन्तर्क्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताएका हुन् ।

संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । पुनले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प नरहेको उल्लेख गरे ।

‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो । वामपन्थी-प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन ।’

गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका लागि संघर्ष, त्याग र बलिदानको पृष्ठभूमिबाट आएका दलहरू रहेको उनले बताए । १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरूको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए ।

‘हाम्रो यो गठबन्धन चुनावी जित हारका लागि वा नेताहरूको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्देश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरू खडा गरिए । ती अवरोधहरू पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’

प्रतिक्रिया दिनुहोस