हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १२ : ५३
हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ  : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको दाबी गरेका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२/६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं ।

उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए । पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिए । नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’

उनले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए । उनले भने, ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरुलाई हामीले होइन हामीलाई चाहिँ अरुले माग्ने स्थिति बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस