काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको भुमिका र निर्णय प्रक्रियामा पार्टीको कुनैपनि संलग्नता वा निर्देशन नरहने स्पष्ट पार्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले उपसभामुख पदमा निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलको सदस्य नरहने र तटस्थ भुमिकामा रहने संवैधानिक व्यवस्थाको स्मरण गराउनुभएको हो । अध्यक्ष राईले उपसभामुख रुवी कुमारीले शपथ ग्रहण गर्नुभन्दा दुई घण्टा अगाडि नै पार्टीबाट राजीनामा दिइसकेको बताउनु भयो । श्रम संस्कृति पार्टीले ‘दोहोरो चरित्र’ देखाएको भनी बाहिर भइरहेको चर्चाको खण्डन गर्दै उहाँले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गर्ने र फेरि सोही प्रक्रियाबाट अघि सारिएका प्रधानन्यायाधीशका उम्मेदवारलाई उपसभामुखले समर्थन गर्ने विषयमा पार्टीलाई जोड्नु गलत भएको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘शपथ ग्रहण गर्नुअघि नै उहाँले मलाई राजीनामा बुझाइसक्नुभएको हो। त्यसैले उहाँ अहिले हाम्रो दलको सदस्य हुनुहुन्न । उहाँ हाम्रो पार्टीको उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको हो, तर पदभार ग्रहण गरेपछि उहाँ पूर्ण रूपमा तटस्थ हुनुहुन्छ । उपसभामुखले कहाँ भोट हाल्ने, कसरी कार्यसम्पादन गर्ने वा उहाँको व्यक्तिगत जीवन र कार्यशैली कस्तो हुने भन्ने विषयमा पार्टीले कुनैपनि हस्तक्षेप, निर्देशन वा उर्दी जारी गर्दैन । उहाँले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ ।’
अध्यक्ष राईले उपसभामुखको मतदान गर्ने अधिकार उहाँको व्यक्तिगत र पदिय स्वतन्त्रताको विषय भएको भन्दै यसलाई पार्टीको नीतिसँग जोडेर नहेर्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, २० : ०६
लेखकबाट थप