त्रिविमा शीतकालीन कक्षा सञ्चालन

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १२ : १६
त्रिविमा शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स), काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शीतकालीन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको छ । 

रिमोट सेन्सिङ प्रविधिको माध्यामवाट हिउँ र हिमनदीको स्थलगत अध्ययन पश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका २५ जना विद्यार्थी सहभागी भएको शीतकालीन कक्षामा हिमनदीमा देखिएका तत्कालीन एवम् दीर्घकालीन प्रभाव,समग्र मौसम परिवर्तनमा देखिएको परिवर्तन, हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव  लगायतका विभिन्न शीर्षकमा विज्ञ प्राध्यापकहरूबाट मंसिर २१ देखि पुस १ गतेसम्म ११ दिन सम्म कक्षा सञ्चालन हुने भएको छ  ।  सहभागी विद्यार्थीहरू मध्ये ९ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीहरूको तत्कालीन अध्ययन गरी फर्किएका हुन् । शीतकालीन कक्षामा भारतका २, पाकिस्तानका १, भुटानका १ र थाइल्यान्डका १ विद्यार्थीहरू समेत संलग्न रहेका छन् । 

शीतकालीन कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य मार्फत विद्यार्थीहरूको  सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन  जल तथा मौसम विभागले सञ्चालन गरेको शीतकालीन कक्षाबाट अन्य विभागहरू समेत प्रोत्साहित हुनुपर्ने बताए । 

 त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठित निकायहरूसँग सहकार्य गरी आफ्ना विद्यार्थीहरूको क्षमता प्रस्फुटन गर्न थप गर्ने बताए । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले शीतकालीन कक्षा सञ्चालनले विद्यार्थीहरूमा अध्ययन र अनुसन्धान प्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययन मार्फत बौद्धिक क्षमताको विकास गराउन समेत सफल भइरहेको बताए । 

कार्यक्रममा शीतकालीन कक्षा सन् २०२३ को नेतृत्व गरिरहेका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.दिवस श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश गर्दै शीतकालीन कक्षा सञ्चालनका मुख्य मुख्य विषयहरूमा बारेमा संक्षिप्त जानकारी गराएका थिए । 

 

प्रतिक्रिया दिनुहोस