नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, १४ : ४१
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबिच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि सम्झौता नवीकरण भएको छ । 

नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रम सन् २०२८ सम्म निरन्तर सञ्चालन हुने भएको छ ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवर्द्धनमा ठूलो सहयोग पुगेको सिइओ ज्ञवालीले जानकारी दिए ।