राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १२ : ३०
राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले अस्ट्रेलियाका दुवै संसद्‌का प्रमुखसँग भेट गरेको छ । नेपाली टोलीले अस्ट्रेलियास्थित सिनेटका अध्यक्ष सु-लाइन्स र संसद्‌का सभामुख मिल्टन डिकसँग क्यानबेरास्थित संसद् भवनमा भेट गरेको हो ।

अध्यक्ष तिमिल्सिना, अन्य प्रदेशका तीन सभामुख, चार उपसभामुख र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष सहितको टोली गत सोमबारदेखि अस्ट्रेलियाको भ्रमणमा छ । क्यानबेरास्थित नेपाली दूतवाासद्वारा जारी विज्ञप्तिमा टोलीले अस्ट्रेलियाली सिनेटका अध्यक्ष लाइन्स र संघीय संसद्‌का सभामुख मिल्टन डिकसँग उच्चस्तरीय भेटवार्ता गरेको जनाएको छ । भेटका क्रममा दुई देशको संसदीय पद्धतिबारे अनुभव आदानप्रदान गर्नुका साथै दुई देशबीच रहेको आपसी सम्बन्ध संसदीयस्तरमा अझ प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

सभामुख मिल्टनले हालै आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै दुई देशबीचमा उच्चस्तरीय भेटवार्ताले द्विदेशीय सम्बन्ध अझ प्रगाढ हुने बताएका थिए । अस्ट्रेलिया आएपछि नेपाली टोलीले न्यु साउथ वेल्स राज्यका सिनेट अध्यक्ष बेन फ्रयाङ्गलिन तथा तल्लो संसद्‌का सभामुख ग्रेग पाइपरसँग भेट गरेका थियो ।

यसैगरी टोलीले राजधानी अस्ट्रेलियन क्यापिटल टेरीटोरीका सभामुख जोय बर्कसँग समेत क्यानबेरामा भेटवार्ता गरेको थियो । भेटमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस