राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ राजदूतले गरे बिदाइ भेट

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, १४ : १६
राष्ट्रिय सभा अध्यक्षसँग चिनियाँ राजदूतले गरे बिदाइ भेट

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत छन् । सोङले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गरे । ‘तपाईँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ,’ बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भने, ‘तपाई जहाँ रहे पनि हामी असल मित्रको रूपमा सम्झिनेछौँ ।’

सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्ष भएकाले विभिन्न कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू पनि केही कार्यक्रममा सहभागी हुने अवसर मिलेको बताए ।

दुई देशबीच कूटनीतिक सम्बन्धका साथै जनताबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अध्यक्ष दाहालले संसदीय अनुभव आदान प्रदानलाई पनि बढाउँदै लैजानुपर्ने बताए ।

सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे । चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात् गरेको उनले बताए । राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस