दुर्गा प्रसाईँको आन्दोलनमा कमल थापाको समर्थन

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, ०९ : २६
दुर्गा प्रसाईँको आन्दोलनमा कमल थापाको समर्थन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । हिजो देखी काठमाडौंमा ‘ब्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईँ नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन । 

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको म उच्च सम्मान गर्दछु,’ थापाले भनेका छन्, ‘जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म सदभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछु।’

बिहीबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणाम स्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दुःख लागेको जनाउँदै उनले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस