फूलखेतीमा रमाउँदै युवा कृषक

सफल खबर संवाददाता

मंगलबार, २८ कार्तिक २०८०, ०९ : ३६
फूलखेतीमा रमाउँदै युवा कृषक

लुम्बिनी । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो ।

पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन् । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उहाँले जानकारी दिए । 

यस वर्ष तिहार केही ढिलो पर्दा उहाँको फूलबारीमा फूल दसैँअघिनै फुल्न सुरु गरेको हो । “यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो”, उनले भने, “तिहार नजिकिएसँगै फूलको माग पनि बढेको छ, यस वर्ष दसैँ र तिहारमा फुलको राम्रो व्यापार भएको छ ।” प्रतिमाला रु एक सय र फूलको प्रतिकिलो रु पाँच सयसम्ममा बिक्री भइरहेको उनले बताए । 

यस वर्ष रु पाँचलाख आम्दानी गर्ने उहाँको लक्ष्य छ । भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ । 

डपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । पछिल्लो समय युवा पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवा लागेका छन् । भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ । 
    
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन् । सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएकासमेत फूल टिप्न र माला बनाउन व्यस्त छन् ।
    
फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पाँच जना युवा मिलेर विगत चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताए । कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक हुन् । सुरुमा रु दुई लाख लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब रु ३० लाख बढी लगानी पुगेको उनी बताउछन् । 

गत वर्ष आठ कट्ठामा फूल खेती गरिएकोमा अहिले १५ कट्ठा क्षेत्रफलमा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताए । उनीहरुले दाङ र अर्घाखाँचीमा पनि यस वर्षदेखि जग्गा भाडामा लिएर फूल खेती गरेका छन्। “हामीले उत्पादन गरेको फूलमाला दसैँअघिबाट बिक्री हुँदै आएको छ, यस वर्षदेखि त दाङ र अर्घाखाँचीमा पनि उत्पादन गरेर बिक्री गर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “तिहारका लागि अहिलेसम्म टिपेका फूल र बनाएका माला आज र भोलि सबै बिक्री हुँन्छ ।”

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा रु २० र फूलको प्रतिकिलो रु ५० सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला रु सय र सयपत्री फूल प्रतिकिलो रु पाँच सय ५० सम्ममा बिक्री भइरहेको छ । फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन् । कृषि पढ्दै गरेका १७÷१८ जना विद्यार्थी ओजेटिको लागि आएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस